पाँचौं हेमजा हिले महोत्सवको तयारी पुरा, भोलीबाट सुरु हुने महोत्सवमा हिलो दौडदेखि धान रोपाइँसम्मको प्रतिस्पर्धा

Share:

पोखरा। देवीस्थान सेवा समाज, हेमजाको आयोजनामा हुने पाँचौं हेमजा हिले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। यही असार १५ गतेदेखि सुरु हुने महोत्सव हेमजाको देवीस्थान टोलमा आयोजना हुने भएको हो। महोत्सवको तयारीस्वरूप महोत्सव स्थल तथा वरपरको क्षेत्रको सरसफाइ कार्य सम्पन्न भइसकेको छ भने खेत हिल्याउने कार्य पनि सुरु भइसकेको आयोजकले जनाएका छन्।

प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरू

महोत्सवमा हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालयस्तरीय धान रोपाइँ प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमासमूहबीच असारे भाका, हिलोमा भाले र माछा समाउने जस्ता आकर्षक प्रतियोगिता समावेश गरिएका छन्। साथै, विभिन्न लोकप्रिय कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति पनि हुने जनाइएको छ।

समाजका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार हेमजालाई कृषि पर्यटनसँग जोड्दै विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न, आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न र कृषकप्रति सम्मान प्रकट गर्दै युवालाई कृषिमा आकर्षित गर्न महोत्सवको आयोजना गरिएको हो।

कृषकको चाडका रूपमा मानिने महोत्सव

सामाजकी उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक चन्द्रकला पोख्रेलका अनुसार, कृषकहरूको चाडको रूपमा सञ्चालन हुने यो महोत्सवले स्थानीय कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। महोत्सवको उद्घाटन कार्यक्रम पोखरा महानगरपालिका-२५ हेमजाका वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोतीलाल तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ।

झाँकी व्यवस्थापन संयोजक विष्णु थापाका अनुसार असार १५ गते बिहान ठीक ९:३० बजे विष्णुपादुका माई स्थान मन्दिरबाट सुरु हुने झाँकी देवीस्थान मार्ग हुँदै मिलचोक परिक्रमा गरी महोत्सव स्थलमा पुग्नेछ।

प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गर्ने व्यक्ति वा समूहलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महोत्सव सञ्चालनका लागि करिब रु. ९ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको समाजका कोषाध्यक्ष मोहन भण्डारीले जानकारी दिए। महोत्सव ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ भन्ने नारासहित सम्पन्न हुँदैछ।

कमेन्ट गर्नुहोस्
Share: