टी-२० महिला क्रिकेट: कास्की फाइनल नजिक, पर्वत र स्याङ्जाले अंक बाँडे

Share:

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी-२० क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनल यात्रा तय गर्ने पहिलो टोली बनेको छ। प्रतियोगिताको दोस्रो दिन कास्कीले लगातार दोस्रो जित दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो। टोलीका लागि रचना चौधरीले अविजित २५ रन बनाइन् भने चन्द्रमाया बरालले पनि १५ रनको अविजित योगदान दिइन्।

कप्तान सिर्जना पौडेलले ३१ बलमा १ चौका प्रहार गर्दै २७ रन जोडिन्। अन्य ब्याटरमध्ये श्रद्धा गुरुङले ८, शिखा दवाडीले १५ र रेखा तामाङले २ रन बनाइन्।

नवलपुरका लागि यमुना पंगेनीले २ विकेट लिइन् भने श्रेया शर्मा र आयुषा चापागाईंले समान १–१ विकेट लिए। ११८ रनको लक्ष्य पछ्याउने क्रममा नवलपुर ७ विकेट गुमाएर ७८ रनमै सीमित भयो। मोनिका लामिछानेले २२ रन बनाइन् भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कास्कीका लागि चन्द्रमाया बरालले २ विकेट लिइन् भने श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १/१ विकेट लिए।

दोस्रो खेल वर्षाले प्रभावित

दोस्रो खेलमा पर्वत र स्याङ्जाबीचको खेल वर्षाका कारण अवरुद्ध भइ दुबै टोलीले १/१ अंक बाँडेका छन्। स्याङ्जाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो। टोलीका लागि सिमाना केसीले ३८ बलमा २ चौका प्रहार गर्दै ३३ रन बनाइन्। ज्योत्स्निका मरासिनी २४ रनमा रिटायर्ड हर्ट भइन्।

अन्यमा श्रेया शाहले १९,सलिना सेनले १३, कुशुम गोदार र निरु जिटीले समान ४/४ रन जोडिन्। पर्वतका लागि दिपिका सापकोटा र प्रतिभा खड्काले क्रमशः २ र १ विकेट लिइन्।

जवाफमा पर्वतले १/१ ओभरमा २ विकेट गुमाउँदै ३ रन मात्र जोड्दा वर्षा सुरु भयो। ओपनर सुसिला भट्टराई ३ रनमा अविजित रहिन् भने योगिता केसी क्याच आउट र जिविका क्षेत्री रन आउट भइन्। स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन्। खेल पूरै हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: