“राइड सेयरिङ लागू गरेरै छोड्छु”- मुख्यमन्त्री पाण्डे

Share:

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ सेवा लागू गर्ने निर्णय कार्यान्वयनमा आफू दृढ रहेको बताएका छन्। उनले प्रदेश सरकार र प्रदेश सभाबाट पारित निर्णयलाई व्यवहारमा उतारिने स्पष्ट गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार बोल्दै पाण्डेले भने, “राइड सेयरिङ लागू गर्ने प्रदेश सरकारको निर्णयमा म दृढ छु। लागू गरेरै छाड्छु। मेरो निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले झन् सजिलो बनाइदिएको छ।”

मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ नहुँदा सामान्य यात्रुहरू ट्याक्सीबाट ठगिनु परेको उल्लेख गर्दै भने, “तीन सयमा जान सकिने ठाउँमा ट्याक्सीले १५ सयसम्म लिने गरेको छ। यस्तो ठगीविरुद्ध हुने आन्दोलनबाट म पछि हट्दिन।”

राइड सेयरिङ सेवा लागू गर्न संघर्षरत पाण्डे नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्। उनले जनताको पक्षमा लिइएको निर्णयलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।

कमेन्ट गर्नुहोस्
Share: