
पोखरा। रोटरी क्लब अफ पोखरा न्युरोडको १६औं वार्षिक पदस्थापन समारोह बुधबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा क्लबका नयाँ अध्यक्ष अमृत राज बास्तोला सहित कार्यकारी समितिका सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरे। समारोहमा रोटेरियन, स्थानीय नेतृत्व, विभिन्न रोटरी तथा रोट्रयाक्ट क्लबका अध्यक्षहरू, पत्रकार तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो।
नवनियुक्त अध्यक्ष अमृत राज बास्तोलाले २०२५/२६ का लागि समाज सेवा, वातावरण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी सञ्चालन गरिने कार्यक्रमहरूबारे आफ्नो योजना प्रस्तुत गरे। उनले विगतमा क्लबले गरेका सफल अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।
यसै अवसरमा, २०२४/२५ का अध्यक्ष दीपेन्द्र शर्माले आफ्नो कार्यकालमा क्लबले पुर्याएका सेवाहरू र उपलब्धिहरू प्रस्तुत गर्दै समुदायसँगको सहकार्य अझ मजबुत बनाएको बताए। समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्टिक्ट ३२९२ का डिस्टृक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले उद्घाटन मन्तव्य दिँदै क्लबले रोटरी इन्टरनेशनलको उद्देश्य अनुसार काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहसचिव वर्षा केशव पराजुलीलाई ‘रोटेरियन अफ दी इयर’ अवार्ड र रविन्द्र शर्मालाई ‘हाइएस्ट एटेन्डेन्स’ अवार्ड प्रदान गरिएको थियो। साथै, संस्थापक अध्यक्ष रवि प्रसाद बराल, पूर्व अध्यक्षहरू सुवास सिग्देल र प्रेम प्रसाद शर्मालाई विशेष सम्मान गरिएको थियो।
पोखरा-२२ का वडा अध्यक्ष हिमलाल बराल, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो। पूर्व अध्यक्ष तथा डिस्टृक्ट सेक्रेटरी सुवास सिग्देलले रोटरी क्लबलाई दीर्घकालीन र प्रभावशाली सामाजिक संस्थाको रूपमा स्थापित गर्न योगदान पुर्याइएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई पनि त्यसअनुसार काम गर्न आग्रह गरे।
एसिस्टेन्ट गभर्नर रविन्द्रनाथ बास्तोलाले नयाँ नेतृत्वलाई अघिल्ला कार्यक्रमहरूको निरन्तरता दिँदै योजना अनुसार कार्यान्वयन गर्न सुझाव दिए। वडा अध्यक्ष हिमलाल बरालले पोखरा महानगरपालिका भित्र पहिलो धुँवामुक्त वडा बनाउने क्लबको पहलप्रति धन्यवाद दिँदै उक्त परियोजनामा सहकार्य गर्न वडा कार्यालयबाट चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए।
पदस्थापन समारोहका संयोजक एवं पूर्व अध्यक्ष टुवराज बास्तोलाले प्रमुख अतिथिको संक्षिप्त परिचय दिएका थिए। क्लब अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गीता सिग्देलले, धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पराज पराजुलीले तथा सञ्चालन सचिव वर्षा केशव पराजुलीले गरेकी थिइन्। कार्यक्रममा क्लबको समग्र गतिविधि समेटिएको स्मारिका विमोचनसमेत गरिएको क्लबका सम्पादक छबि सुवेदीले जानकारी दिए।
