
पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने भएका छन्। प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न लिग चरणका अन्तिम खेलहरूपछि फाइनल समीकरण पूरा भएको हो। अपराजित कास्की समूह विजेता र स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका हुन्।
कास्कीको सानदार जित
लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतमाथि ९५ रनको सानदार जित दर्ता गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएको थियो। उसका लागि सिर्जना पौडेलले सर्वाधिक ४१ रनको योगदान दिइन् भने विनिता नेपालीले १७ रन जोडिन्। पर्वतकी जीविका क्षेत्रीले ३ विकेट लिइन्।
१२४ रनको विशाल लक्ष्य पछ्याएको पर्वत १०.१ ओभरमा २८ रनमै अलआउट भयो। पर्वतका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। कास्कीकी सोनिमा पुन मगरले ३ तथा यशोदा भुजेलले २ विकेट लिइन्।
स्याङ्जाको फाइनल यात्रा
शुक्रबार नै भएको अर्को खेलमा स्याङ्जाले नवलपुरलाई ८ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रनमा अलआउट भयो। उसका लागि धनकुमारी क्षेत्रीले बनाएको १७ रनबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्। स्याङ्जाकी सिमाना केसीले घातक बलिङ गर्दै ३.३ ओभरमा मात्र ८ रन खर्चेर ४ विकेट लिइन्। ५७ रनको सामान्य लक्ष्य स्याङ्जाले ८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। उसका लागि सलिना सेनले २३ र श्रेया शाहले १४ रन बनाइन्।
यो जितसँगै कास्की ३ खेलमा अपराजित रहँदै ६ अङ्कसहित शीर्ष स्थानमा रह्यो। स्याङ्जा २ जित र १ हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुग्यो। नवलपुर तेस्रो र पर्वत तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए। अब उपाधिका लागि कास्की र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ।
