पोखरा आँपुभन्ज्याङका एसईई विद्यार्थी शतप्रतिशत उत्तीर्ण, विद्यालयद्वारा सम्मान

Share:

पोखरा । पोखरा महानगरपालिका-३३ स्थित आँपुभन्ज्याङबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी सबै विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन्। यस उपलब्धिको सम्मानस्वरूप शुक्रबार आयोजित एक विशेष कार्यक्रममा विद्यालयले उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ।

कालिका माध्यमिक विद्यालयबाट यस वर्ष १४ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–३३ का वडा सदस्य प्रकाश कार्की, विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडा सदस्य कार्कीले कालिका विद्यालयले हासिल गरेको शतप्रतिशत नतिजा वडा-३३ कै गौरवको विषय भएको बताए। उनले विद्यार्थीहरूलाई अनुशासनमा रही निरन्तर मिहिनेत गर्न सुझाव दिँदै भने,  “कुनै पनि सफलताको पछाडि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको समन्वित योगदान हुन्छ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यालयको हितमा विव्यस सधैँ सक्रिय रहेको बताउँदै यसपटकको सफलताले ती प्रयासहरू सार्थक बनेको बताए। उनले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि ल्याएका शैक्षिक तथा अतिरिक्त कार्यक्रमहरूले उत्कृष्ट नतिजा ल्याउन सहयोग गरेको बताए। उनले पाठ्यपुस्तकबाहेक अन्य प्रतिभा विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको जानकारी गराए।

विद्यार्थी प्रमिसा बानियाले विद्यालयबाट प्राप्त सकारात्मक प्रेरणाले आफूहरूलाई उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्‍याएको अनुभव सुनाइन्। अर्का विद्यार्थी सङ्गम श्रेष्ठले शिक्षकहरूको मार्गदर्शन र प्रविधिमार्फत गरिएको स्वअध्ययनले राम्रो अङ्क ल्याउन सहयोग पुर्‍याएको बताए।

कार्यक्रममा कक्षा १० मा अध्यापन गरिरहेका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईं, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: