पोखरामा राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी तीव्र

Share:

पोखरा। शुक्ला साहित्य प्रतिष्ठानले आगामी श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने २६औं राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी तीव्र पारेको छ। प्रतिष्ठानले कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित बनाउन पोखराका विभिन्न संघसंस्थासँग अन्तर्क्रिया र छलफललाई तीव्रता दिएको छ। प्रतियोगिता साउन ३१ गते पोखरामा आयोजना हुनेछ।

प्रतिष्ठानका सचिव रामप्रसाद पौडेल घर्मेलीका अनुसार, शनिवार बाटुलेचौरमा आयोजित अन्तर्क्रियात्मक भेलामार्फत विभिन्न क्षेत्रीय संघ-संस्थाबाट सुझाव संकलन गरिएको छ।

कार्यक्रममा पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले राष्ट्रिय कृष्ण भजन प्रतियोगिता यस क्षेत्रको गौरव भएको उल्लेख गर्दै, “सबैको सहभागिता र सहयोगबाट यो कार्यक्रमलाई सफल र भक्ति–भावनाले परिपूर्ण बनाउनुपर्छ,” भन्नुभयो। उहाँले शुक्ला साहित्य प्रतिष्ठानका गतिविधिहरूले पोखराको सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याएको धारणा पनि व्यक्त गरे।

प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा, पोखरा–१९ का पूर्व वडाध्यक्ष शोभा मोहन पौडेल, संस्कृतिकर्मी तथा मानार्थ सदस्य रामबहादुर बानियाँ, पूर्व अध्यक्ष नेत्र बहादुर बानियाँ, पूर्व सल्लाहकार बेनी बहादुर बस्नेत, सल्लाहकार सुवास अधिकारी, बाटुलेचौर कालिलेक सहकारी अध्यक्ष बसन्त तिमिल्सिना, पोखरा मण्टेश्वरीका निर्देशक थिर बहादुर थापा, बडहर बोट आमा समूहकी उपाध्यक्ष गीता पौडेललगायतले कार्यक्रम सफल बनाउन सामूहिक प्रतिबद्धता जनाए।

प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले यसपटक विभिन्न उपसमिति गठन गरी कार्यक्षेत्र थप विस्तार गरिएको जानकारी दिए। कार्यक्रममा महिला तथा सामाजिक संघसंस्था समन्वय उपसमिति संयोजक शारदादेवी बस्नेतको संयोजकत्वमा अन्तरक्रिया सम्पन्न भएको हो। वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सचिव पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

“जहाँ संस्कृति, त्यहाँ साहित्य” भन्ने मूल मन्त्रका साथ, शुक्ला साहित्य प्रतिष्ठानले विगत २५ वर्षदेखि श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: