
पोखरा। चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको २२औं स्थापना दिवसका अवसरमा पोखरामा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यसहित सम्पन्न भएको छ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधानको जिम्मा आफूले लिएको जानकारी गराउँदै, केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएलगत्तै छैटौं अधिवेशन गरिने स्पष्ट पारे। उनले २०६० साल असार २२ गते संघको स्थापना भएको स्मरण गर्दै विभिन्न चुनौती पार गर्दै संघ यहाँसम्म आइपुगेको बताए।
संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई “अक्सिजन” को संज्ञा दिँदै कास्की शाखालाई देशकै उत्कृष्ट शाखा भएको बताए।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारिताको संरक्षण र प्रवर्द्धनका लागि चलचित्रसम्बन्धी गतिविधि बढाउनु आवश्यक रहेको औंल्याउँदै, मिडिया नै कलाकारलाई बाहिर ल्याउने मूल माध्यम भएको बताए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ युवा अवस्थामा प्रवेश गरिसकेको भन्दै यसको गतिशीलता कायम राख्नुपर्नेमा जोड दिए। नेतृत्वविहीनताको प्रभाव स्वाभाविक हुने बताउँदै त्यसको समाधानसहित अघि बढ्नुपर्ने सुझावसमेत उनले दिए।
कार्यक्रममा बोल्दै अभिनेता प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर राम्रो भन्नुपर्नेमा जोड दिए। पैसा कमाउने फिल्म मात्रलाई ‘राम्रो’ ठान्ने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै, कहिलेकाहीँ उत्कृष्ट अभिनय भए तापनि सिनेमा असफल हुने अवस्थाप्रति चिन्ता व्यक्त गरे।
अभिनेता तथा निर्देशक माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत गर्दै अघि बढाउन र चलचित्र ऐनमा रहेका त्रुटिहरू सच्याउन मिडियाको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।
संघका पूर्व उपाध्यक्ष तथा पूर्व सल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सिनेमा संवाद कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। चलचित्र पत्रकारिता केवल चलचित्रमै सीमित नरही सम्पूर्ण मनोरञ्जन क्षेत्रका आयाममा कलम चलाउनु आवश्यक रहेकोमा पनि उनले ध्यानाकर्षण गराए।
पूर्व सह-सचिव विजय नेपालले चलचित्र पत्रकारिताका लागि फेलोसिप, तालिम तथा गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। संघका सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आगामी योजना प्रस्तुत गरेका थिए। संस्थापक अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी सबै वक्ताहरूले संघको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार व्यक्त गरे।
चलचित्र पत्रकार संघ नेपाल सन् २०५६ साल जेठ ७ गते केन्द्रस्तरमा भरत शाक्यको अध्यक्षतामा स्थापना गरिएको हो। कास्की शाखा भने २०६० साल असार २२ गते श्रीराम सिग्देलको नेतृत्वमा पोखरामा स्थापना भएको हो।
संस्थाको दोस्रो कार्यकाल शिव शर्मा ‘चञ्चल’, तेस्रो कार्यकाल रेम बिक, चौथो कार्यकाल अरुण गिरी र वर्तमान कार्यकाल प्रभु अधिकारीको नेतृत्वमा संचालन हुँदै आएको छ। हालसम्म कास्की शाखामा ५५ भन्दा बढी पत्रकार आवद्ध भइसकेका छन्। संघले पोखरालाई केन्द्र बनाएर सम्पूर्ण गण्डकी प्रदेशभर काम गरिरहेको छ।
