भोटेकोसीमा तिब्बतबाट आएको बाढी, विभागद्वारा सतर्कता अलर्ट जारी

Share:

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन अलर्ट जारी गरेको छ।

विभागका अनुसार मंगलबार बिहान करिब ३:३० बजे रसुवा-स्याफ्रुबेसीस्थित जलमापन केन्द्रमा बाढीको प्रवाह देखिएको थियो। सोही बाढी बिहान ५ बजे त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रसम्म आइपुगेको महाशाखाले जनाएको छ।

बेत्रावती केन्द्रमा जलसतह करिब दुई मिटरभन्दा बढीले वृद्धि भएको थियो, यद्यपि अहिले केही घट्दो क्रममा रहेको उल्लेख गरिएको छ। बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने अनुमान गरिएको छ।

विभागले आज दिउँसोसम्म उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले घटनाको नियमित अनुगमन भइरहेको जानकारी दिँदै बाढीको सम्भावित कारणबारे प्रारम्भिक अध्ययन सुरु गरिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: