सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन फिर्ता

Share:

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा सुरु भएको चिकित्सकहरूको आन्दोलन सरकारसँगको वार्तापछि अन्त्य भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ भएको छलफलमा संघका पदाधिकारीहरू, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी थिए। छलफलपछि आन्दोलन अन्त्य गर्ने सहमति जुटेको हो।

सहमति अनुसार नेपाल चिकित्सक संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ। संघले उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै असन्तुष्टि जनाएको थियो। यसैको विरोधस्वरूप संघले सोमबारदेखि देशभर आकस्मिकबाहेकका सेवा बन्द गराएको थियो।

संघले उपभोक्ता संरक्षण ऐन र मुलुकी फौजदारी संहिता संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको थियो। केही सातायता उपभोक्ता अदालतले विभिन्न अस्पताल तथा चिकित्सकहरूलाई लापरबाहीका कारण बिरामीको मृत्यु वा क्षति भएको ठहर गर्दै क्षतिपूर्ति तिर्ने आदेश दिएको थियो।

ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल तथा चिकित्सकहरूलाई १ करोड ४५ लाख रुपैयाँ, र ग्रान्डी सिटी अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सकहरूलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला आएको थियो। यीनै फैसलाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: