
पोखरा । पोखराको नदिपुरमा आजदेखि सुरु भएको तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता अन्तर्गत लिग चरणका तीन खेल सम्पन्न भएका छन्। लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा भएको प्रतियोगितामा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लब विजयी भएका छन्।
पहिलो खेलमा, घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई सोझो ३–० सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गर्यो। सेट स्कोरस् २५–१६, २५–१४, २५–१७। यस जितसँगै घान्द्रुकले ३ अंक जोड्यो।
दोस्रो खेलमा, आधिखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा हरायो। पहिलो सेट २६–२८ ले गुमाएपनि बाँकी तीन सेट २५–२३, २८–२६, २५–२० ले जित्दै आधिखोलाले ३ अंक बटुल्यो।
तेस्रो खेलमा, ढुङ्गे देउराली क्लबले ठकुरी समाज तनहुँलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो। पहिलो सेट २५–२३ ले जितेपनि दोस्रो र तेस्रो सेट २२–२५, २२–२५ ले गुमाएको देउरालीले चौथो सेट २५–१८ र निर्णायक सेट १५–१३ ले जित्दै २ अंक जोड्यो। पराजित ठकुरी समाजले पनि १ अंक हात पार्यो।
भेट्रान्सतर्फ माछापुच्छ्रे विजयी
भेट्रान्सतर्फको पहिलो खेलमा माछापुच्छ्रे गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो। पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ्रेले दोस्रो सेटमा ११–२० को पिछडिमा हुँदाहुँदै ३१–२९ को उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो। तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै विजयी भयो।
उद्घाटनमा सभ्य समाज निर्माणमा खेलकुदको जोड
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सभ्य समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भने, “समाजलाई गतिशील र अनुशासित बनाउन खेलकुदको योगदान अत्यन्तै महत्वपूर्ण हुन्छ। अनुशासनमा रहने खेलाडी राष्ट्रलाई चिनाउने व्यक्तित्व बन्छ।”
पुरस्कार विवरण
प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ। पुरुषतर्फको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थानले ३० हजार र सान्त्वना स्थानले १५ हजार रुपैयाँ, साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
भेट्रान्सतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्नेछन्। साथै, विधागत उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदियमान खेलाडी र प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता पुरुषतर्फ राउण्ड रोबिन प्रणालीमा र भेट्रान्सतर्फ नकआउट आधारमा सञ्चालित छ। फाउण्डेशनले यसअघि २०७५ र २०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा दर्शकलाई निशुल्क प्रवेश व्यवस्था गरिएको थियो भने भोलिदेखि टिकटको व्यवस्था गरिने आयोजकले जनाएको छ। साथै, प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन हुनेछन्।
