लेकसिटी कलेजद्वारा स्नातक तहका विद्यार्थीलाई विदाइ, सांस्कृतिक कार्यक्रमसहित सम्मान

Share:

पोखरा । पोखरास्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरूको सम्मानमा विशेष विदाइ कार्यक्रम आयोजना गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा स्नातक तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरूको पहलमा खादा र मायाको चिनोसहित सहपाठीहरुलाई बिदाइ गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा कलेज सञ्चालक समिति अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले विद्यार्थीहरूलाई आगामी यात्राका लागि शुभकामना दिँदै समाज हितमा सदैव क्रियाशील रहन आग्रह गरे। आधुनिक शिक्षाको प्रवाहमा समयसापेक्ष शैक्षिक प्रणालीको आवश्यकता औंल्याउँदै, उनले लेकसिटी कलेजका विद्यार्थीहरूले समाजमा आफ्नो विशेष पहिचान बनाउने विश्वास व्यक्त गरे ।

“कलेज जीवनमा धेरैले आफ्नो लक्ष्य र उद्देश्य पहिचान गर्छन्, त्यसैले यो समय केवल पढाइका लागि मात्र नभई परिचय निर्माण र सीप विकासको अवसर पनि हो,” अध्यक्ष पराजुलीले भने।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख शोभकान्त सिग्देलले संस्थाको हरेक गतिविधिमा विद्यार्थीहरूको योगदान स्मरणीय रहेको बताउँदै, अध्ययन समाप्त भएर विदा भए पनि कलेजले उनीहरूलाई सधैं संस्थाको अभिन्न सदस्यका रूपमा सम्मान गर्ने जानकारी दिए।

कार्यक्रममा स्नातक तह पूरा गरेका मार्था हिताङ र स्मृति काफ्लेले आफ्ना अनुभव बाँडे। “लेकसिटी कलेज जीवनको अभिन्न हिस्सा रहिरहनेछ,” उनीहरूले भने।

कार्यक्रमको अध्यक्षता विविएस तेस्रो वर्षका विद्यार्थी प्रतीक पौडेलले गरेका थिए भने सञ्चालन अस्मिता रानाभाट र सम्झना भट्टराईले गरेका थिए। मानविकी संकायकी विद्यार्थी मिसान गोम्जाले गीत प्रस्तुत गरेकी थिइन्। त्यसैगरी अन्य विद्यार्थीहरूले नृत्य लगायतका सांस्कृतिक प्रस्तुति दिएका थिए।

कलेजका प्राध्यापकहरूले विद्यार्थीहरूलाई टिका, खादा र मायाको चिनो प्रदान गर्दै विदाइ तथा सम्मान गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेजको स्थापना विसं २०६४ मा भएको हो। हाल कलेजमा करिब ३५० विद्यार्थी अध्ययनरत छन्।

कलेजले बीबीएस (व्यवस्थापन) र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य, र बिएएसडब्लु (समाजसेवा) विषयहरूमा स्नातक तहको अध्ययन सञ्चालन गर्दै आएको छ।

शैक्षिक गतिविधिसँगै कलेजले विद्यार्थीहरूलाई समावेश गराउँदै रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन लगायतका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। साथै, सामाजिक विज्ञान केन्द्रले हरेक महिना विभिन्न विषयमा “कचहरी” कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: