
काठमाडौं । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएपछि तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विशेष सम्मान गरेको छ। परिषद्ले काठमाडौँस्थित आफ्नै केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीलाई सम्मान प्रदान गरेको हो।
गण्डकी प्रदेश सरकारको निर्णयपछि देशभरका मगर तथा गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाहरूले स्वागत गर्दै विविध कार्यक्रमहरू आयोजना गरिरहेका छन्। परिषद्को अनुसार, देश–विदेशमा रहेका समुदायका सदस्यहरूले दीप प्रज्वलन र धन्यवाद कार्यक्रममार्फत खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा समुदायका प्रतिनिधिहरूले गण्डकी प्रदेशमा आफ्नो बाहुल्यता रहेको बताउँदै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने अभियानमा वर्षौं देखिको प्रयास अहिलेको नेतृत्वमा आएर सफल भएको भन्दै खुसी व्यक्त गरे।
सम्मान ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले भाषा व्यवहारमा सहज रूपमा प्रयोग गर्न प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरे। साथै, लिपिको प्रयोगमा एकरूपता ल्याउने विषयमा मगर र गुरुङ समुदायका संघसंस्थाहरूसँग सहकार्यको अपेक्षा पनि व्यक्त गरे।
गौरतलब छ, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने विधेयक गण्डकी प्रदेश सभाबाट असार २४ गते पारित भएको हो।
