कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो।

विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ।

यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो।

यस्तै, विभागले इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ। विभागले उक्त क्षेत्र आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरुलार्य आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ।

कमेन्ट गर्नुहोस्
Share: