शिखर इन्सुरेन्सद्वारा पोखराका दुई विद्यालयलाई आर्थिक सहयोग

Share:

पोखरा। शिखर इन्सुरेन्स कम्पनी प्रालि गण्डकी प्रदेश कार्यालयले पोखराका दुई सामुदायिक विद्यालयलाई एक/एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग स्वरूप पोखरा-१७ स्थित जानकी माध्यमिक विद्यालय र पोखरा-२१ स्थित जनचेतना माध्यमिक विद्यालयलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

जानकी माविमा आयोजित कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश प्रमुख विष्णुराज पौडेलले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुंगलाई चेक हस्तान्तरण गरे । यस्तै, जनचेतना माविका लागि अध्यक्ष गोविन्द गिरीलाई चेक प्रदान गरिएको हो।

सो अवसरमा प्रमुख पौडेलले शिखर इन्सुरेन्सले देशभर ७३ जिल्लामा ११८ शाखामार्फत सेवा दिँदै आएको जानकारी दिनुभयो। उनका अनुसार, कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ८० करोड बीमा शुल्क संकलन गरी तीन अर्बभन्दा बढी दाबी भुक्तानी गरेको छ।

कम्पनीले हाल ३ लाखभन्दा बढी बीमित र ६६० जनालाई प्रत्यक्ष रोजगारी दिएको उल्लेख गर्दै उनले, “छिटोछरितो सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो,” भने ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले सामुदायिक विद्यालयलाई गरिएको यस्तो सहयोगले शिक्षाको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: