देशभर ७२ प्रतिशत धान रोपाइँ

Share:

काठमाडौं। नेपालमा यस वर्ष हालसम्म कुल धान रोपाइँको करिब ७२ प्रतिशत कार्य सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो।

देशभर करिब १० लाख हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। नेपालभर करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ।

प्रदेशगत विवरणअनुसार, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भइसकेको छ । कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत तथा बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। बागमतीमा करिब १ लाख ५ हजार हेक्टर र सुदूरपश्चिममा १ लाख ७१ हजार हेक्टर क्षेत्रमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

यो वर्ष केही स्थानमा मौसम प्रतिकूल रहे पनि साउनको अन्तिमसम्म रोपाइँ ९८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत वर्षको यही समयमा ८४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो। यस वर्षको सुस्त प्रगतिको कारणमा मौसमको प्रतिकूलता, अतिवृष्टि र अनावृष्टिजस्ता दैवी कारण प्रमुख रहेको मन्त्रालयको विश्लेषण छ।

मन्त्रालयले धान उत्पादनको हिसाबले तराई क्षेत्रलाई सबैभन्दा उपयुक्त क्षेत्र मानेको छ। ‘सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ। पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ,’ सूचना अधिकारी जोशीले भने।

आर्थिक वर्ष २०८०/८१ मा कुल ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष पनि उन्नत बीउ, प्रविधि र कृषि ज्ञानको प्रयोगबाट उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार, करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: