असारको खडेरी तोड्न कुन-कुन नेपाली फिल्म आउँदैछन् साउनमा ?

Share:

काठमाडौं । आर्टमाण्डुको ‘ऊनको स्वीटर’पछि नेपाली बक्स अफिस सुनसान छ। विशेषगरी असार महिनालाई हलिउड वा बलिउडमा ‘अफ सिजन’ मानिएजस्तै यहाँ पनि दर्शक उपस्थिति न्यून हुने मान्यता रहँदै आएको छ।

असारको अन्तिम साता रिलिज भएको ‘यो मन त मेरो नेपाली हो’ पनि फ्लप रह्यो । तर अब साउन महिना नेपाली फिल्मका लागि उत्साहजनक बन्ने संकेत देखिएको छ । साउनमा तीन फरक कथाका नेपाली फिल्महरू रिलिज हुँदैछन् – ‘रियल रिङ्गेट’, ‘सिटामोल’ र ‘मोहर’।

‘रियल रिङ्गेट’ (साउन १६ गतेदेखि)

निर्देशक: विभोर पोखरेल
मुख्य कलाकार: प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का

लेखन: प्रदीप भारद्वाज
निर्माता: गगनलाल प्रधान

फिल्मले वैदेशिक रोजगारीको सपनामा विदेशिएका नेपाली युवाको पीडा, धोका र संघर्षको कथा मर्मस्पर्शी ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।

‘सिटामोल’ (साउन २३ गते)

निर्देशक: राजबहादुर साने
मुख्य कलाकार: बेनिशा हमाल, सौगात मल्ल, लोकेन्द्र लेखक, भूगोल कार्की
निर्माण: तुलसीदेवी फिल्म प्राली र जूनतारा फिल्म्स

फिल्म माओवादी जनयुद्धले समाजमा पारेको असर र त्यसले जनमानसमा छोडेका घाउहरूको कथा उठाउँछ।

‘मोहर’ (साउन २३ गते)

निर्देशक/लेखक: ओम प्रतीक
मुख्य कलाकार: पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा
निर्माता: चुम्बनजंग शाही

सुदूरपश्चिममा व्याप्त देउकी प्रथाविरुद्धको कथावस्तुमा आधारित यस फिल्ममा पल शाहको दोहोरो भूमिका हुनसक्ने अनुमान गरिएको छ। साउन २३ मा एकैसाथ रिलिज हुने ‘सिटामोल’ र ‘मोहर’ दुबैमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहेकी छन्, जसले बक्स अफिसमा रोचक भिडन्तको सम्भावना बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: