
पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराका दुई छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा-७ घारीपाटनबाट ठूलो परिमाणमा एम्पुल र पोखरा-२७ शिशुवाबाट ब्राउनसुगरसहित उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
घरकोठाबाटै १३९ एम्पुल लागू औषध बरामद
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा-७, धारापानी क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले सोमबार दिउँसो ३ बजे खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा पोखरा-७ घारीपाटनमा डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-९ का ३१ वर्षीय रबि मिजार र पोखरा-७ घारीपाटनकै २० वर्षीय भुपेन्द्र बि.क. को कोठाबाट लुकाइराखेको अवस्थामा लागू औषध बरामद भएको थियो । प्रहरीले उनीहरुको साथबाट ब्रुफिनर्फिन ४६ एम्पुल, डाईजापाम ४६ एम्पुल र फेनेरागन ४७ एम्पुल गरी जम्मा १३९ एम्पुल लागू औषध र १ थान मोबाइल बरामद गरेको छ ।
राजमार्गमा चेकजाँचका क्रममा ३ जना पक्राउ
यसैगरी, सोमबार नै साँझ ५:३० बजे पोखरा-२७, शिशुवास्थित पृथ्वी राजमार्गमा खटिएको प्रहरी टोलीले थप ३ जनालाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार ३ जनाको शरीर खानतलासी गर्दा ब्राउनसुगर बरामद भएको हो ।
पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिका-१ का ३८ वर्षीय कमल थापा, धादिङ घर भई हाल पोखरा-१४ चाउथे बस्ने ३१ वर्षीय राजन क्षेत्री र मोरङ सुन्दरहरैचा नगरपालिका-६ का ४२ वर्षीय सत्य नारायण चौधरी रहेका छन् । उनीहरुको साथबाट ४ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
