विद्यार्थीको सीप विकासका लागि आर्वाविजय माविलाई लायन्स क्लबको आर्थिक सहयोग

Share:

पोखरा । लायन्स क्लब अफ पोखरा भैरवले पोखरा महानगरपालिका-१३, ढाँडबेँसीमा अवस्थित आर्वाविजय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यार्थीहरूलाई विद्युतीय तालिममार्फत सीपयुक्त बनाउने उद्देश्यले क्लबले बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरेको हो।

कार्यक्रममा क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका पूर्व अध्यक्ष सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई ४० हजार १५५ रुपैयाँको चेक हस्तान्तरण गरे।

विद्यालयका शिक्षक बाबुराम सुवेदीका अनुसार, प्राप्त रकम विद्यार्थीहरूलाई विद्युतीय तालिम (इलेक्ट्रिसियन ट्रेनिङ) प्रदान गर्न उपयोग गरिनेछ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउन यो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, “विद्यालयजस्तो पवित्र संस्थामा आएर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ।”

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको बताए।

सो अवसरमा क्लबका पूर्व अध्यक्षहरू समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना मन्तव्य दिएका थिए। क्लबका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विनोदद्वाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: