
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण कर्जाको चरम दुरुपयोग भइरहेको भन्दै यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनले राज्यकोषबाट जाने यस्तो अनुदानको ठूलो हिस्सा लक्षित वर्गसम्म नपुगेको र नियामक निकाय मौन बसेकोमा आपत्ति जनाए।
पोखरा उद्योग वाणिज्य संघ तथा पृथ्वीनारायण क्याम्पसको अर्थशास्त्र विभागले मंगलबार आयोजना गरेको ‘शैक्षिक संस्था-उद्योग संवाद’ कार्यक्रममा बोल्दै मुल्मीले भने, “सहुलियतपूर्ण कर्जामध्ये २२ प्रतिशत नियमविपरीत, १६ प्रतिशत दोहोरिएर र ९ प्रतिशत दुरुपयोग भएको तथ्याङ्क छ। जम्मा ११ प्रतिशत मात्रै लक्षित वर्गमा पुगेको देखिन्छ। जनताले तिरेको करबाट बनेको राज्यकोषको यस्तो दोहन हुँदा सरकार र नियामक निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन।”
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबारे भएको अन्तर्क्रियामा उनले कर्जा नतिरेर कालोसूचीमा पर्नेहरूको संख्या बढ्नु अर्थतन्त्रका लागि खतराको संकेत भएको बताए। “गत असार मसान्तसम्म करिब ५३,८०० जना कालोसूचीमा परेका छन्, जसमध्ये गण्डकी प्रदेशका मात्रै ११ प्रतिशत छन्,” उनले भने, “अर्थतन्त्रको आधार मानिने साना र मझौला व्यवसायी यो सूचीमा पर्नु राम्रो होइन।”
उनले गण्डकी प्रदेशले देशको कुल निक्षेपमा ८ प्रतिशत योगदान गरे पनि कर्जा प्रवाहमा जम्मा ७.२५ प्रतिशत मात्रै हिस्सा पाउनु चिन्ताको विषय भएको बताए। कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक दीपकराज लामिछानेले भने हालको मौद्रिक नीति उदार रहेको र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित रहेको बताए।
उनले उद्योगी–व्यवसायीलाई आग्रह गर्दै भने, “अहिले अर्थतन्त्रका सबै सूचक सकारात्मक छन् र ब्याजदर पनि सस्तो छ। यो ‘पर्ख र हेर’ को होइन, तत्काल लगानी गर्ने समय हो।” पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मौद्रिक नीतिले केही उत्साह थप्न खोजे पनि बजार चलायमान हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले सहकारी र लघुवित्त क्षेत्रको संकटले बजार सुस्ताएको बताउँदै ब्याजदर घट्दा पनि कर्जा प्रवाह किन बढेन भन्ने विषयमा राष्ट्र बैंकले गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए।
अन्तर्क्रियामा टिप्पणी गर्दै पृथ्वीनारायण क्याम्पसका पूर्वअर्थशास्त्र विभागीय प्रमुख प्राडा. लेखनाथ भट्टराईले मौद्रिक नीतिले अर्थतन्त्र जोगाउने काम गरे पनि बढ्दो महँगी नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्नेमा आशंका व्यक्त गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले क्रिप्टो कारोबारको नियमन, युवा पलायन रोक्ने नीति, धितोमा आधारित कर्जा प्रणालीको अन्त्य, र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्ने जस्ता विषयमा आफ्ना धारणा राखेका थिए। संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष उत्तममान बज्राचार्यले गरेका थिए।
