
पोखरा। होटल संघ नेपाल, गण्डकीले होचो उचाइबाट अत्यन्तै छोटो समयमै पर्यटकलाई हिमाली क्षेत्रतर्फ लैजाने प्रवृत्तिको विरोध गर्दै, यस्तो कार्य यात्रुहरूका लागि जोखिमपूर्ण हुन सक्ने भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ।
संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका सिमावर्ती तराई क्षेत्रबाट पर्यटकलाई एकै दिनमा अन्नपूर्ण क्षेत्रका उच्च स्थानहरूमा पुर्याउँदा ‘लेक लाग्ने’ लगायतका स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो।
संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पर्यटकलाई बिस्तारै उचाइमा लैजाने, वातावरण अनुकूल हुने (एक्लिमेटाइज) समय दिने व्यवस्था हुनु आवश्यक छ।” उनले सम्बन्धित ट्राभल एजेन्सी, टुर अपरेटर, र अन्य सरोकारवालाहरूलाई यस्तो जोखिमयुक्त यात्रा प्रवृत्ति नगराउन अपिल गरेका छन्।
विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “आफ्नै सवारी साधनमार्फत सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो अभ्यास नगर्न सुझाव दिन चाहन्छौं। जोखिम कम गर्न सरकारी तहबाट समेत आवश्यक पहल गरिनुपर्छ। यसले पर्यटकको सुरक्षासँगै पोखरामै बसाई लम्ब्याउन सहयोग पुर्याउनेछ।”
पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न गन्तव्यतर्फ यात्रा गर्छन्। मानव स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनु पर्ने पर्यटन क्षेत्रको विशेषता भएको स्मरण गराउँदै संघले हाल देखिएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। पछिल्लो समय नेपालका तराई तथा दक्षिणी सिमावर्ती क्षेत्रबाट एकै दिनमा पोखरा हुँदै मुक्तिनाथ पुगेर फर्किने पर्यटकहरूको संख्या उल्लेख्य रुपमा बढेको जनाइएको छ।
संघले भनेको छ, “हामी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुँदैन भन्ने पक्षमा छौं। समुन्द्र सतहदेखि करिब १०० मिटर उचाइमा रहेको तराई क्षेत्रबाट ८०० मिटर उचाइको पोखरा हुँदै सोही दिन ३७१० मिटर उचाइमा अवस्थित मुक्तिनाथ पुग्नु स्वास्थ्यका दृष्टिले अत्यन्तै जोखिमपूर्ण कार्य हो।”
संघका अनुसार होचो स्थानबाट एकै दिन लामो दूरी र उच्च स्थानतर्फको यात्रा गर्दा पर्यटकलाई ‘लेक लाग्ने’ सम्भावना उच्च हुन्छ, जसको ज्यानै जाने जोखिम पनि रहन्छ। बरसातको समयमा रातको समयमा यात्रा गर्नु थप जोखिमयुक्त हुन सक्ने उल्लेख छ।
अन्तर्राष्ट्रिय रूपमा यसले नेपालको पर्यटन क्षेत्रको छविमा समेत नकारात्मक असर पार्न सक्ने संघको चेतावनी छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) का अनुसार, गत आर्थिक वर्षमा उक्त क्षेत्रमा ‘लेक लागेर’ १८ जना पर्यटकको मृत्यु भएको थियो। तीमध्ये ८ जना भारतीय, १/१ जना अमेरिकी, जर्मन, कोरियाली, स्वीस र ६ जना नेपाली नागरिक थिए।
यस्तै, जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, वि.सं. २०८१ सालमा मुस्ताङमा मात्रै ‘लेक’ लागेर ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिकको ज्यान गएको थियो।
हालै काठमाडौंबाट सिधै हेलिकोप्टरमार्फत सगरमाथा क्षेत्रमा पुगेका एक अष्ट्रेलियन पर्यटकलाई ‘लेक’ लागेपछि फिर्ता ल्याइएको उदाहरण पनि संघले प्रस्तुत गरेको छ।
