पोखरामा एक महिनादेखि जारी श्रीमद्वीतक चर्चा: सरकारदेखि समाजसेवीसम्मको उल्लेखनीय सहभागिता

Share:

पोखरा। पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमद्वीतक कथा प्रवचनको २६औँ दिनसम्म आईपुग्दा भक्तजनसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको छ। असार ३१ गतेदेखि सुरु भएको धार्मिक कार्यक्रममा शनिबार गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल लगायत विभिन्न व्यक्तित्वहरू सहभागी भएका थिए।

सो अवसरमा सचिव ढकालले सामाजिक विकास मन्त्रालयले युवासँग सम्बन्धित गतिविधि, महिला मैत्री कार्यक्रम, खेलकुद तथा धार्मिक संस्थाहरूसँग सहकार्य गर्दै आएको जानकारी दिए। उनले मन्त्रालयले श्रीकृष्ण प्रणामी मन्दिरको विकासका लागि चालु आर्थिक वर्षमा केही सहयोग रकम छुट्याएको र आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, मन्त्रालयका कार्यक्रमहरू मन्त्रालयको वेबसाइटमार्फत जानकारी लिएर लाभ उठाउन सकिने बताए।

यसैक्रममा राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश प्रमुख पुष्प चन्द्र थापाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरको स्तरोन्नतिका लागि सहयोग गर्ने बताए। डा. गोविन्द प्रसाद तिम्सिनाले पनि कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै भविष्यका कार्यक्रमहरूमा पनि सहभागी भइ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

मन्दिरका संस्थापक पं. कमल लामिछानेले आउँदो असोज महिनामा आयोजना हुने “पञ्चायन पाठ” कार्यक्रममा आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्। त्यसैगरी कास्की जिल्ला श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमद्वीतक कथा प्रवचनपछि पोखरामै पहिलोपटक आयोजना हुने “१ सय ८ तारतम सागर पाठ पारायण” कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए। उनले उक्त कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गर्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले भक्तजनको उल्लेखनीय उपस्थितिका कारण श्रीमद्वीतक चर्चा सफल बन्दै गएको बताए। साथै, आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम- १०८ तारतम सागर पाठ पारायणमा पनि सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा समाजसेवी एवं उद्योगपति रामजी बास्तोला, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, कोषाध्यक्ष टेकनाथ पराजुली, युवा परिषद् अध्यक्ष तोयानाथ सापकोटा, केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीलगायतको उपस्थिति रहेको थियो।

यसअघि श्रीमद्वीतकको २५औँ दिन शुक्रबार कालिका गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण तिमिल्सिनाले समेत सहभागिता जनाएका थिए, समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए।

श्रीमद्वीतक कथामा श्रीकृष्ण प्रणामी धर्मकी धर्मप्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेका छन्। कथा प्रवचनमा गायक तथा वाद्यवादक सुनिल राई र अनुपम भुजेलले संगीतमय साथ प्रदान गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: