स्वदेशमै बनेका ’सामुराइ’ ई-रिक्साले एक्स्पो आकर्षणको केन्द्र बन्यो

Share:

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मेगाटेक समूहले प्रदर्शनमा ल्याएका स्वदेशमै बनेका ‘सामुराइ ब्रान्ड’का ई-रिक्साहरू दर्शकहरूको आकर्षणको केन्द्र बनेका छन्। विभिन्न प्रयोजनका लागि निर्माण गरिएका यी ई-रिक्साहरूले सस्तो, वातावरणमैत्री र बहुउपयोगी सवारीको रूपमा नयाँ सम्भावना देखाएका छन्।

मोरङको बुढीगंगास्थित कारखानामा डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया नेपालमै हुने यी रिक्साहरू साना व्यवसायी, किसान तथा स्थानीय तहका लागि लक्षित छन्। सामान ढुवानी, तरकारी र मासु बिक्री, फोहोर संकलन, पानी हाल्ने, र यात्रु सेवा जस्ता विविध प्रयोजनका लागि निर्माण गरिएका मोडलहरू एक्स्पोमा प्रदर्शित छन्।

१३ मोडलका सामुराइ रिक्साहरू

एक्स्पोमा सामुराइ लोड-किङ, भेजी क्लोज, फुडीज, चिकन कार्ट, सुपर प्लस, प्लस, प्लस (बेस), इवा, एक्सट्रीम, पावर प्लस, र भेजी ओपन जस्ता विभिन्न मोडलहरू सार्वजनिक गरिएका छन् । यी इ–रिक्साहरूमा ४ देखि ५ वटा लेड-एसिड ब्याट्री, १०००-१२०० वाट मोटर, तथा ८०० देखि १३८० किलोग्रामसम्मको लोड क्षमता रहेको मेगाटेकले जनाएको छ ।

स्थानीय तह र व्यवसायीहरूका लागि उपयोगी

गाउँपालिका तथा नगरपालिकाले फोहोर संकलनको लागि लोड-किङ, तरकारी र मासु व्यापारका लागि भेजी क्लोज र चिकन कार्ट, र स्कूलहरूका लागि सुपर प्लस र प्लस मोडल प्रयोग गरिरहेका छन्। कम्पनीका सिनियर सेल्स अफिसर शशी रेग्मीले भने, “स्वदेशमै बनेका यस्ता सवारीहरूले साना व्यवसायीलाई आत्मनिर्भर बनाउने दिशामा ठूलो प्रेरणा दिएको छ ।”

कम्पनीका अनुसार पानी ट्यांकर मोडलको मूल्य ९ लाख रुपैयाँ, गार्बेज कार्ट ६ लाख ५० हजार, चिकन कार्ट ५ लाख ५० हजार, स्कूल भ्यान ६ लाख, र भेजी क्लोज ४ लाख ५० हजार तोकिएको छ । ३०० जनालाई रोजगारी दिइरहेको मेगाटेकले हालसम्म ९ सयदेखि १ हजार युनिट रिक्साहरू उत्पादन गरिसकेको र दैनिक १०-१५ युनिट उत्पादन क्षमता रहेको जनाएको छ ।

लक्ष्यः आत्मनिर्भरता र स्वदेशी प्रवद्र्धन

यस्तै, कम्पनीका प्रमुख सुरेश लोहनीका अनुसार, “हामीले नेपाली सडक र आवश्यकतालाई बुझेर यी सवारी निर्माण गरेका हौं। हाम्रो लक्ष्य स्वदेशमै उत्पादित यस्ता रिक्सामार्फत साना व्यवसायी र किसानलाई सशक्त बनाउनु हो।”

ब्याट्रीबाट सञ्चालन हुने भएकाले यी रिक्साहरूले धुवाँ र ध्वनि प्रदूषण नगर्ने, तथा ईन्धनको खर्च कटौती गर्ने हुँदा दिगो यातायात प्रणालीको उदाहरण बन्ने सम्भावना देखिएको छ ।

विदेशी ब्रान्डहरूसँग प्रतिस्पर्धा

नेपालमै उत्पादित र डिजाइन गरिएका सामुराइ इ-रिक्साहरूले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने स्तर देखाएपछि स्वदेशी प्रविधिमा आम दर्शकको आत्मविश्वास र चासो बढेको देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: