
पोखरा। लामो समयदेखिको राजनीतिक रस्साकस्सी र पदाधिकारी चयनमा देखिएको गतिरोधलाई चिर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पो.स्वा.वि.प्र.) ले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानको उपकुलपति पदमा प्रा.डा. भरत खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मंगलबार डा. खत्रीलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। यो नियुक्तिसँगै तीन महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको प्रतिष्ठानको प्रशासनिक अन्योल अन्त्य भएको छ।
पो.स्वा.वि.प्र.को यात्रा सोल्जर बोर्ड अस्पतालबाट सुरु भई क्रमशः कास्की जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै वि.सं. २०७२ मा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा पुनःसंरचना गरिएको हो। हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै प्रतिष्ठानको शिक्षण अस्पतालको रूपमा परिचालित छ। प्रतिष्ठानले चिकित्सा शिक्षाको स्नातक र स्नातकोत्तर तहमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
सुरुवातमा ६ विधामा मात्र सञ्चालन भएको पिजी कोर्स हाल १० विधामा विस्तार गरिएको छ। नयाँ शैक्षिक सत्रदेखि थप तीन नयाँ विषयहरू- एमडीजीपी (General Practice & Emergency Medicine), साइकाइट्री, र अपथाल्मोलोजी- सुरु गरिँदैछ। B.Sc. Nursing र BNS को ३/३ ब्याच अध्ययनरत छन्। हालसालैदेखि प्रतिष्ठानमा MBBS कार्यक्रम सुरु गरिएको छ, जसअन्तर्गत ५० विद्यार्थी अध्ययनरत छन्।
