
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिंगदेन दोस्रोपटक रूपन्देहीस्थित भैरहवा कारागार पुगेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट गरेका हुन्।
लामिछानेलाई कारागारमै भेटेर स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि र रूपन्देही-२ मा हुने उपनिर्वाचनबारे कुराकानी गरिएको लिंगदेनले जानकारी दिए।
भेटपछिको प्रतिक्रिया स्वरूप उनले सामाजिक सञ्जालमार्फत सरकारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। “देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ,” उनले लेखेका छन्।
लिंगदेनले भैरहवा कारागारलाई सुविधा र सुरक्षा दुवै हिसाबले अनुपयुक्त भन्दै तुरुन्त कारागार सार्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। रास्वपा सभापति लामिछानेलाई केही दिनअघि अदालतको आदेशअनुसार थुनामा राखिएको हो। उनलाई रूपन्देही-२ मा उपनिर्वाचन हुन लागेका बेला भैरहवा कारागारमा राखिएको छ।
