
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूले आयोजना गरेको भलिबल प्रतियोगिताबाट संकलित बचत रकमबाट स्थानीय तीन विद्यालयलाई आर्थिक सहयोग गरिएको छ।
वडास्तरीय समन्वयमा गत चैतमा सम्पन्न ‘प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिता’ बाट बचत भएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने निर्णयअनुसार सहयोग गरिएको हो।
कार्यक्रम संयोजक देवेन्द्र परियारका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५ सय तथा सिमला आवि, आर्वालाई १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो।
आर्थिक संयोजक रामप्रसाद बरालका अनुसार प्रतियोगिताबाट जम्मा २ लाख ७७ हजार ५९१ रुपैयाँ संकलन भएकोमा खर्च कटाएर ६१ हजार ३३६ रुपैयाँ बचत भएको थियो। उक्त रकमबाट नै तीन विद्यालयलाई सहयोग प्रदान गरिएको हो।
बुधवार सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा खेल संयोजक अमृत परियार, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल, लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी, शम्भु सिग्देललगायतको उपस्थिति रहेको थियो।
