
पोखरा । पौडेल बंश महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ। बैठकको अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पाँचजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
पोखराको न्युरोडस्थित होटल दीपसागरको सभाकक्षमा आयोजित कार्यक्रममा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा। पवित्रमणि पौडेल, ज्योतिष पं. लिलाधर पौडेल, ८३ वर्षीय प्रा. चतुर्भुज शर्मा पौडेल र निलकण्ठ शर्मा पौडेललाई सम्मान गरिएको हो।
उनीहरूलाई गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रूपमा सम्मान गरेका हुन्।
कार्यक्रममा मन्त्री पौडेलले घमण्ड र अहंकारभन्दा पनि समाज र राष्ट्रले गर्व गर्न सक्ने नागरिक बन्नुपर्नेमा जोड दिए। परिवारसँगै समाज र राष्ट्र निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सन्ततीले गर्व गर्नसक्ने आदर्श कायम गर्नुपर्ने धारणा व्यक्त गरे।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मौलिक संस्कृति र परम्पराको संरक्षण जरुरी रहेको उल्लेख गर्दै सन्ततीलाई सिकाउने वातावरण निर्माणमा जोड दिए।
महासंघका अध्यक्ष हरिराम पौडेलले “पौडेल थर, हाम्रो साझा घर” भन्ने मूल आदर्श वाक्यका साथ महासंघ अघि बढिरहेको बताउँदै बन्धुत्वको भावना अभिवृद्धिका लागि सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले बझाङस्थित पैडीकोट क्षेत्रलाई पौडेलहरूको ऐतिहासिक थातथलोको रूपमा अध्ययन गरिएको जानकारी दिंदै सो क्षेत्रको संरक्षण र ऐतिहासिक दस्तावेजहरूको संकलन तथा व्यवस्थापन महासंघको प्रमुख लक्ष्य रहेको उल्लेख गरे। साथै, निकट भविष्यमा स्वास्थ्य सचेतना र बुढ्यौली व्यवस्थापन सम्बन्धी कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिने जानकारी दिए।
बैठक महासंघका अध्यक्ष हरिराम पौडेलको अध्यक्षता तथा महासचिव उद्धवप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष शारदा पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
बैठकमा अध्यक्ष पौडेलसहित वरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेलले आ-आफ्ना तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, बैठकमा विभिन्न समसामयिक विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू लिइएको महासंघले जनाएको छ।
तेस्रो पूर्ण बैठकमा ताप्लेजुङदेखि बझाङसम्मका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भारतबाट कुलबहादुर पौडेल र भुटानबाट बलराम पौडेलले समेत प्रतिनिधित्व गरेका थिए।
