
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित “नेपालमा उपयुक्त फोहोर व्यवस्थापनमार्फत जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य सुधार (सोलिड हेल्थ) ” परियोजना प्रभावकारी देखिएको छ।
नेपाल विकास समाजको सहकार्यमा सञ्चालित यो परियोजना समुदायस्तरमा प्रभावकारी बन्दै गएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।
परियोजनाको समीक्षाका क्रममा यसबारे निष्कर्ष निकालिएको नगर प्रमुख आचार्यको भनाइ छ।
महानगरका वडा नं. ३, ४, ८, ९ र १७ मा सञ्चालन भइरहेको यो परियोजनाअन्तर्गत घरायसी फोहोरमैला व्यवस्थापनमार्फत उद्यमशीलता, रोजगारी र सीप विकास, सरसफाईकर्मीहरूको स्वास्थ्य अध्ययन, कौसी खेती प्रवर्द्धन तथा सामुदायिक स्वास्थ्य सुधारजस्ता कार्यक्रमहरू समावेश छन्।
यी कार्यक्रमहरू नतिजामा आधारित रूपमा सफल र समुदायमैत्री देखिएको नगर प्रमुख आचार्यले उल्लेख गरे ।
परियोजना सञ्चालनमा पोखरा महानगरपालिकाले प्रदान गरेको सहजीकरणका लागि नेपाल विकास समाजकी अध्यक्ष निशा रानाले आभार व्यक्त गरे। समुदायस्तरमा फोहोर व्यवस्थापन कार्यमा परियोजनाको प्रभावकारी कार्यान्वयनले ठूलो महत्व राख्ने समेत उनले बताए।

