पोखरामा तीज महोत्सवको तयारी तीव्र, बीवाईडी मुख्य प्रायोजक

Share:

पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका-१ स्थित टुंडिखेलमा आयोजना हुने तेस्रो संस्करणको टुंडिखेल तीज महोत्सव-२०८२ लाई विद्युतिय सवारी निर्माता कम्पनी बीवाईडीले मुख्य प्रायोजन गर्ने भएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा आगामी भदौ ६ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि बीवाईडीले मुख्य प्रायोजकको रुपमा साथ दिने सहमति भएको हो। यस सम्बन्धी सम्झौतापत्रमा आयोजक केन्द्रका अध्यक्ष भक्त अधिकारी र बीवाईडी पोखरा शाखाका प्रमुख निराजन खनालले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि खनालले बीवाईडीले हालै पोखरा महानगरपालिका-१०, बृन्दावन चोकमा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर) सुविधा सहितको नयाँ सोरूम सञ्चालनमा ल्याएको जानकारी दिए।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले पोखरामा आफ्नो २० औं शोरूम संचालनमा ल्याएको हो। खनालले नेपाली महिलाहरूको चाड हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे।

आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सवको सफल आयोजनाका लागि बीवाईडी जस्ता प्रतिष्ठित व्यवसायिक संस्थाको साथ महत्वपूर्ण हुने उल्लेख गर्दै, साथ दिएकोमा बीवाईडीलाई धन्यवाद दिए।

महोत्सवका उद्देश्य

अध्यक्ष अधिकारीका अनुसार महोत्सव आयोजना गर्नुका प्रमुख उद्देश्यहरू यस प्रकार रहेका छन् ।ऐतिहासिक टुंडिखेलको संरक्षण, परम्परागत नेपाली कला-संस्कृतिको प्रवर्द्धन, महिलाद्वारा उत्पादित सामग्रीको प्रदर्शनी, मौलिक तीज गीत, नृत्य, र संस्कृति प्रवर्द्धन, लोपोन्मुख संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभालाई मञ्च प्रदान, सास्कृतिक, खेलकुद, ज्ञानवर्धक र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, इन्द्रेणी एकेडेमीमा अध्ययनरत बालबालिकाको समग्र स्तर उन्नति, इन्द्रेणी आवासीय क्रियाकलाप भवनलाई सुविधा सम्पन्न बनाउने तथा शव यात्रा वाहन सञ्चालनको योजना बनाएको छ।

१० दिने महोत्सवमा मौलिक तीज गीत प्रतियोगिता (आमा समूह लक्षित) खुल्ला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप (ढिकी(जाँतो) प्रतियोगिता तथा छेलो हान्ने प्रतियोगिता हुनेछन्।

यस्तै, वाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, दैनिक उपभोग्य वस्तु, कृषि, हस्तकला, लत्ता कपडा, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थाका १५० भन्दा बढी स्टलहरू रहनेछ ।महोत्सव स्थलमा स्टल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। अध्यक्ष अधिकारीका अनुसार १५० व्यापारिक स्टल र १२ रेष्टुरेन्ट स्टल निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ।

बजेट विवरण

महोत्सवका लागि अर्थ संकलन उपसमितिका संयोजक तथा आयोजक केन्द्रका उपाध्यक्ष निरज विक्रम राणाका अनुसार सम्भावित आम्दानी ६९ लाख रहेको छ। यस्तै, सम्भावित खर्च ६४ लाख ५० हजार, संभावित बचत ४ लाख ५० हजार रहेको उनको भनाइ छ। उक्त बचत रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिने जानकारी पनि उनले दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: