
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन्। भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा गाउँपालिका कार्यालयद्वारा ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकामा आयोजित “प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको आध्यात्मिक दर्शन तथा आशीर्वाद कार्यक्रम” मा प्रदेश प्रमुख भट्टको साथै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको पनि विशेष सहभागिता रहेको थियो।
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रदेश प्रमुखद्वय भट्ट र मियाँले जगतगुरुको आगमनमार्फत जोरायललाई धार्मिक तथा पर्यटकीय दृष्टिले चिनाउन गरिएको प्रयासलाई सराहना गर्दै यो पहल स्थानीय इतिहासका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओली समेत सहभागी थिए।
प्रदेश प्रमुख भट्टले श्रीकृष्ण जन्माष्टमी (गोकुल अष्टमी) को धार्मिक, सांस्कृतिक र दार्शनिक महत्वबारे प्रकाश पार्दै भने, “कृष्णलीलासँग सम्बन्धित भजन, कीर्तन, नाट्य प्रदर्शन तथा उपासनाका लागि यो दिन अत्यन्त विशेष मानिन्छ। हिन्दू धर्मको पवित्र ग्रन्थ श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले प्रतिपादन गरेका योग र दर्शन मानव जातिका लागि अमूल्य ज्ञानका स्रोत हुन्।”
उनले जन्माष्टमी पर्वले आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरे।



