
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले हरितालिका तीजको अवसरमा आगामी भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव-२०८२’ आयोजना गर्ने भएको छ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा टेवानले महोत्सवको तयारीबारे जानकारी दिएको हो। “संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा योगदान पु¥याऔं” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।
टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेका अनुसार नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्व तीजका परम्परागत गीत, नृत्य र संस्कृति खुला चौरमा पुनर्जीवित गरिने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
गत वर्ष करिब ८ हजार दर्शकले अवलोकन गरेको महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिलाहरूको सहभागिता रहनेछ। साथै आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य सहभागिता हुने अपेक्षा छ।
तीज गीत प्रतियोगिता र विविध कार्यक्रम
महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, रमाइला खेलकुद र सांस्कृतिक कार्यक्रम समावेश हुनेछन्। गत वर्ष ३० समूहको सहभागिता रहेको तीज गीत प्रतियोगिता यस वर्ष झन् उत्साहजनक हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने समूहले रु ३५,०००, दोस्रोले रु २५,०००, तेस्रोले रु २०,०००, र १० वटा समूहले प्रत्येकलाई रु ४,००० सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।
टेवानकी महासचिव शोभा अधिकारी पौडेलका अनुसार पहिलो दिन बिहान १०स्३० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य र्याली निकालिनेछ। पर्यटन व्यवसायी, आमा समूह, दिदीबहिनी समूह र अन्य सांस्कृतिक समूहको सहभागिता रहने र्यालीपछि उद्घाटन समारोह हुनेछ। सोही दिनबाट तीज गीत प्रतियोगिता सुरु हुनेछ।
दोस्रो दिन बिहान १० बजेबाट रस्साकसी, घैंटो फुटाउने, साडी दौड लगायतका खेलकुद प्रतियोगिता र महिला सशक्तीकरणसम्बन्धी दुईवटा संवाद कार्यक्रम ९‘टक शो’० सञ्चालन हुनेछन्।
संस्कृति, पर्यटन र आर्थिक सशक्तीकरणमा योगदान
टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको प्रवर्द्धनसँगै पोखराको संस्कृति अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने बताइन्। महोत्सव सम्पन्न गर्न करिब रु १७ लाख खर्च हुने अनुमान गरिएको छ।
पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै आगामी वर्षदेखि महोत्सवका लागि वार्षिक बजेट छुट्याउने प्रतिबद्धता जनाए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले महोत्सवले पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने र महिला पर्यटन व्यवसायीको सशक्तीकरणमा योगदान पुर्याउने बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै महोत्सवले आर्थिक समृद्धिमा भूमिका खेल्ने बताए। पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महोत्सवले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
सहयोग र प्रवर्द्धन
महोत्सवको मुख्य प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन्। साथै, गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् को सहयोग रहेको छ।
