संगठनात्मक सुदृढता र सेवा प्रवाहमा प्रभावकारिता आवश्यक : मन्त्री थापा

Share:

पोखरा। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले संगठनात्मक सुदृढता र आन्तरिक एकताको माध्यमबाट जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति कास्कीको ९औं जिल्ला तथा प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण, प्रमाणपत्र वितरण र जिम्मेवारी हस्तान्तरण कार्यक्रमको अवसरमा मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

उनले भने, “निजामती कर्मचारी युनियन कर्मचारी वर्गका पेशागत अधिकार र हितका पक्षधर मात्र नभई, सुशासन, जवाफदेहितापूर्ण प्रशासन र नागरिकलाई समयमै सेवा दिने संस्कार बलियो बनाउने उत्प्रेरक हुनुपर्छ। संगठनको मजबुती नै विश्वासिलो सेवा र संस्थागत विकासको आधार हो।” मन्त्री थापाले यथार्थपरक नीति सुझाव, कर्मचारीबीचको एकता र संगठनात्मक सचेतनाको माध्यमबाट सरकार र कर्मचारीबीचको समन्वय अझ मजबुत बन्ने विश्वास व्यक्त गरे। साथै, नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिँदै दृढ संकल्पसाथ जिम्मेवारी बहन गर्न आह्वानसमेत गरे।

“प्रदेश सरकारले गरेका कामको प्रचारप्रसार आवश्यक”

उनले प्रदेश सरकारले गरेका महत्वपूर्ण कामहरूको उचित प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। “विगतमा हुन नसकेका कामहरू अहिले सरसर्ती भइरहेको छ। कर्मचारीले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी सेवा दिन अझ सक्रिय हुनुपर्छ,” मन्त्री थापाले भने। तीज पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रम जोड्दै मन्त्री थापाले तीजले नेपाली समाजमा सद्भाव, पारिवारिक खुसी र सांस्कृतिक एकताको सन्देश दिने परम्परा बोकेको बताए।

कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश विभागीय संरचना, विभिन्न शाखा युनियनका प्रतिनिधि, समाजका सरोकारवाला तथा कर्मचारी परिवारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष केदार सापकोटाले गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, गण्डकी प्रेस रजिस्ट्रार विमला भण्डारीलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अन्त्यमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: