पोखरामा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई डिजिटल शिक्षामा अभिमुखीकरण

Share:

पोखरा । पोखरा महानगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई विद्यार्थीहरूका लागि डिजिटल शिक्षाबारे अभिमुखीकरण गरिएको छ। विशेषगरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई अनलाइनमार्फत शिक्षण–सिकाइ गतिविधिमा कसरी संलग्न गराउने भन्ने विषयमा एम्बिसन गुरु एपका विज्ञहरूबाट प्रशिक्षण दिइएको हो।

एम्बिसन गुरु एक डिजिटल शैक्षिक प्लेटफर्म हो, जसलाई इच्छुक व्यक्ति तथा विद्यार्थीहरूले अध्ययन र सिकाइको माध्यमका रूपमा प्रयोग गर्न सक्छन्। मोबाइल एप र वेब दुबैमा आधारित यो प्लेटफर्म विद्यार्थीहरूको सिकाइ प्रक्रियामा उपयोगी र प्रभावकारी हुने विज्ञहरूको भनाइ छ। विद्यालयमा सिकेका विषयहरूमा कुनै प्रकारको अन्योल, अस्पष्टता वा अनविज्ञता देखिएमा यो एपले सिकाइमा सहजीकरण गर्ने बताइएको छ।

यस एपलाई घुन्सा फाउन्डेसन मार्फत फन्डिङ गरिएको छ। फाउन्डेसनकी संस्थापक तथा नेपाल ट्रस्ट की कार्यकारी सदस्य याङ्जोम शेर्पाका अनुसार, शिक्षालाई पहुँचयोग्य र सर्वसुलभ बनाउने उद्देश्य एम्बिसन गुरुले लिएको छ। उनीका अनुसार न्यूनतम मूल्यमा देशभरका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न प्रयासहरू गरिरहेको एम्बिसन गुरुले सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई निःशुल्क अनलाइन शिक्षा प्रदान गर्दै आएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयमा सिकिएको ज्ञानको पुनरावृत्ति, नबुझेका विषयहरू बुझ्ने, नजानेका कुरा अनलाइनमार्फत सोध्ने, मक टेस्ट, लाइभ टिचिङ लगायतका फिचरहरूले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज बनाउने विश्वास व्यक्त गरे।

उनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउन एम्बिसन गुरुले टेवा पुर्‍याउने अपेक्षा गर्दै प्रधानाध्यापकहरूलाई यसका प्रभावकारी प्रयोग गर्न निर्देशन दिए। यद्यपि विद्यालय शिक्षाको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखिए पनि अझ सुधार आवश्यक रहेको स्पष्ट पार्दै, विद्यार्थी–केन्द्रित सिकाइमा जोड दिन र आफ्नो जिम्मेवारीलाई नतिजामुखी बनाउन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: