
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ। शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गरिने जानकारी दिइएको हो।
गण्डकी प्रदेशको सबैभन्दा ठूलो मानिने यो शैक्षिक मेला पछिल्ला केही वर्षदेखि आयोजना हुन सकेको थिएन। यस वर्ष भने नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट स्वीकृति प्राप्त गरी आठौं संस्करणको मेला आयोजना गर्न लागिएको इक्यान कास्कीले जनाएको छ।
मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६० वटा स्टल रहने छन्। मेलामा सहभागी विद्यार्थीहरूका लागि ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायतका उपहारसहितको लक्की ड्र कार्यक्रम पनि राखिएको छ।
पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरी नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सीहरू मात्र मेलामा सहभागी हुने जानकारी दिए। उनले भने, “विश्व आज ग्लोबल भिलेजको रूपमा परिणत भएको अवस्थामा नेपाली विद्यार्थीले आफूले चाहेको विषयमा संसारका जुनसुकै कुनामा शिक्षा हासिल गर्न पाउनु नैसर्गिक अधिकार हो।”
इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयहरूको उपस्थिति रहने शैक्षिक मेलाबाट विदेशमा अध्ययनको सोच बनाएका विद्यार्थीहरूलाई एकै स्थानमै परामर्श पाउने अवसर प्राप्त हुने बताए।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले हाल देशभर ७२० कन्सल्टेन्सी शिक्षा मन्त्रालयमा सूचीकृत रहेको जनाउँदै ती कन्सल्टेन्सीमार्फत भरपर्दो सेवा लिन सकिने बताए। उनले इक्यानका सदस्य संस्था विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उल्लेख गरे। “अवसरको खोजी गर्नु मानवीय स्वभाव हो,” क्षेत्रीले भने, “तर हामी फर्काउने अभियानलाई पनि संस्थागत रूपमा अघि बढाइरहेका छौं।”
मेलाका प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले विद्यार्थी तथा अभिभावकलाई उचित परामर्शको लागि मेलामा उपस्थित हुन आग्रह गरे।
मेलामा ब्रिटिस काउन्सिल नेपालको साथ रहनेछ भने युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी ‘पावर्ड बाइ’ मा रहनेछन्। त्यसैगरी, ग्रेस इन्टरनेसनल मेलाको प्लाटिनम प्रायोजक, चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन/आईआईई गोल्ड प्रायोजक तथा एनएमबी बैंक बैंकिङ पार्टनरका रूपमा रहेका छन्। इक्यान कास्कीले पोखरामा आयोजना हुने यो बृहत् शैक्षिक मेला विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरूका लागि लाभदायक हुने विश्वास व्यक्त गरेको छ।
