कास्कीमा पहिलोपटक अन्तरविद्यालय उसु प्रतियोगिता सम्पन्न, बालमन्दिर मावि च्याम्पियन

Share:

पोखरा । लेखनाथ उसु क्वान र भद्रकाली उसु क्वानको संयुक्त आयोजनामा कास्की जिल्लामा उसु खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम कास्की जिल्ला अन्तरविद्यालय उसु प्रतियोगिता सम्पन्न भएको छ। भदौ ६ र ७ गते पोखरा रंगशालामा आयोजित प्रतियोगितामा कास्की जिल्लाका २२ विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए। ताओलु र सांस्यौं विधामा कुल १६० खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदक गरी कुल ९६ पदक वितरण गरिएको थियो।

समग्र पदक तालिकाको आधारमा प्रथम स्थान बालमन्दिर मावि नदीपुर ,द्वितीय स्थान मैत्रेय पाठशाला तथा तृतीय स्थान रतनपाण्डे मावि आर्वाले हात पारेको छ। उक्त विद्यालयहरूलाई टिम च्याम्पियन ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता पहिलो पटक आयोजना गरेकोमा आयोजकलाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ व्यापक रुपमा आयोजना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

समापन समारोहमा प्रमुख अतिथि तथा नेपाल उसु महासंघका वरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला उसु संघका अध्यक्ष विक्रम लामाले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई धन्यवाद दिंदै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई दिएका थिए।

कार्यक्रमका अवसरमा अन्तर्राष्ट्रिय निर्णायक रतन खाती, १३औं सागकी स्वर्ण पदक विजेता जुनी राई, पूर्व अन्तर्राष्ट्रिय खेलाडी अनिल परियार, राष्ट्रिय खेलाडी धनबहादुर तामाङ, तथा कास्की जिल्ला उसु संघका अध्यक्ष विक्रम राईलाई उसु खेलको विकासमा पुर्‍याएको विशेष योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

त्यसैगरी, प्रतियोगिता आयोजनामा सहयोग पुर्‍याउने प्रायोजक तथा सहयोगी संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रमको संयोजन तथा अध्यक्षता लक्ष्मण तामाङले गरेका थिए भने व्यवस्थापन कास्की जिल्ला उसु संघका सचिव दिलीप लामाले सम्हालेका थिए। कार्यक्रमको सञ्चालन डबिङ गुरुङले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: