पोखरा महानगरपालिका र दक्षिण कोरियाको चेओङ योङ काउन्टीबीच खेलकुद सहयोगसम्बन्धी समझदारी

Share:

पोखरा । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओङ योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिका माध्यमबाट मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यसहित आपसी समझदारी भएको छ। समझदारीपत्रमा पोखरा महानगरपालिकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओङ योङ काउन्टीतर्फबाट खेलकुद समितिका अध्यक्ष हान ग्वाङ सेओकले हस्ताक्षर गरेका हुन्।

नगर प्रमुख धनराज आचार्यका अनुसार उक्त समझदारीमार्फत दुई पक्षबीच खेल गतिविधिको माध्यमबाट मैत्री सम्बन्ध बलियो बनाउने, खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूबीच भ्रमण तथा अनुभव आदानप्रदान गर्ने, पोखराका खेलाडीहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने तथा कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय गर्ने लक्ष्य लिइएको छ।

प्रमुख आचार्यले भने, “फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लन टेनिस, एथलेटिक्स, म्याराथन लगायतका खेलहरूमा हाम्रा खेलाडीहरूको दक्षता विकास र विशेषज्ञता प्राप्तिमा यो समझदारी महत्वपूर्ण हुनेछ। पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने दिशामा यसले अन्तर्राष्ट्रिय सहकार्यको औचित्य पुष्टि गरेको छ।”

समझदारीपछि पोखरा र चेओङ योङबीच नियमित मैत्रीपूर्ण खेलहरूको आयोजना हुने, कोरियाली प्रशिक्षकमार्फत पोखराका खेलाडीहरूको प्रशिक्षण गरिने तथा खेलकुद प्रविधि र उन्नत विधिको आदानप्रदान सहज हुने अपेक्षा गरिएको छ।

चेओङ योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ सेओकले पोखराका खेलाडीहरूको प्रदर्शन सुधारका लागि अत्याधुनिक प्रविधि तथा प्रशिक्षण विधि उपलब्ध गराउने बताए। उनले विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन, युवा खेलाडी आदानप्रदान, पोखराका खेल संस्थाहरूलाई व्यावसायिक सीप विकासमा सहयोग तथा खेलकुद गतिविधिका सम्भाव्य क्षेत्रको पहिचानमा आफूहरू प्रतिबद्ध रहेको जानकारी दिए।

समारोहमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि, प्राविधिक सहायता, खेल सामग्री उपलब्धता तथा अनुभव आदानप्रदानका लागि यो समझदारी महत्वपूर्ण आधार बन्ने उल्लेख गरे।

यसैक्रममा, यस्तै प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओङ योङ काउन्टीबीच पनि भएको छ। कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई, वडा नं. १५ का वडा अध्यक्ष तथा महानगरको खेलकुद विकास समिति संयोजक तोरण बहादुर बानियाँ लगायतले समझदारीलाई पोखराका खेलाडीहरूको अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि अत्यन्तै महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे।

कमेन्ट गर्नुहोस्
Share: