
पोखरा। चाडपर्वका मेलाहरू ग्रामीण भेगमा हराउँदै जाँदा पनि पर्यटन राजधानी पोखरामा तिजको पुरानै रौनक कायमै देखिएको छ। हरेक चाडपर्व र उत्सवलाई भिन्न शैलीमा मनाउने पोखरावासीले यतिबेला ठाउँ-ठाउँमा तिज केन्द्रित मेला र महोत्सवको आनन्द लिइरहेका छन्।
पोखरा महानगरपालिकाभित्र हाल आधा दर्जनभन्दा बढी तिज महोत्सव सञ्चालनमा छन्। यी महोत्सवहरूमा तिज गीत तथा नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी, सामूहिक दर कार्यक्रम, खेलकुद प्रतियोगिता लगायतका विविध कार्यक्रम समावेश छन्।
तिज महोत्सवले संस्कृति र अर्थतन्त्रलाई सँगसँगै जोड
आयोजकहरूका अनुसार यस्ता कार्यक्रमले मौलिक नेपाली संस्कृतिको जगेर्ना मात्र नभई स्थानीय अर्थतन्त्रमा समेत गतिशीलता ल्याउने काम गरेका छन्। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले मङ्गलबार र बुधबार पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तिज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गरेको छ। टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेका अनुसार नेपाली महिलाहरूले परम्परागत रूपमा मनाउँदै आएको तिजको मौलिक शैलीलाई पुनर्जीवित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
उक्त महोत्सवमा तिज गीत प्रतियोगिता, खेलकुद कार्यक्रमसँगै महिला सशक्तीकरणसम्बन्धी दुई वटा टक-शोसमेत समावेश छन्।
विभिन्न स्थानमा बहुआयामिक कार्यक्रम
पोखरा-१ स्थित पुरानो टुँडिखेलमा पनि ‘तेस्रो तिज महोत्सव’ भदौ १५ गतेसम्म जारी रहनेछ। आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार महोत्सवमा दैनिक उपभोग्य वस्तु, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्थालगायत १५० वटा व्यापारिक कक्ष रहेका छन्।
महोत्सवमा खुला मौलिक तिजगीत, एकल नृत्य, ढिकी–जाँतो चलाउने, छेलो हान्ने जस्ता मौलिक प्रतिस्पर्धाहरूसमेत सञ्चालन भइरहेका छन्। पोखराको वडानम्बर १६ अन्तर्गत लामाचौर र बाटुलेचौरमा पनि छुट्टाछुट्टै तिज महोत्सव सञ्चालनमा छन्। लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सुरु भएको महोत्सवमा तिज गीत तथा नृत्य, भलिबल प्रतियोगिता र ‘कृषि तिज गीत प्रतियोगिता’ समावेश गरिएको छ।
बाटुलेचौरमा आयोजना भएको महोत्सवमा महिला दौड, विद्यालयस्तरीय तिज नृत्य तथा समूहगत गीत प्रतियोगिता सम्पन्न भएका छन्।
सराङकोटमा पनि सांस्कृतिक झलक
पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भदौ १० गतेसम्म तिज महोत्सव सम्पन्न भयो। उक्त महोत्सवमा खुला तिजगीत प्रतियोगिता, एकल महिला नृत्य, डोरी तान, छेलो हान्ने जस्ता परम्परागत खेल गतिविधिहरू सञ्चालन गरिए। तिज पर्वमा उत्ताउला र विकृत गीतहरू गाउने प्रवृत्ति बढेपछि केही वर्षदेखि पोखरामा तिज केन्द्रित मेला र महोत्सवले नयाँ ढंगले बजार लिन थालेका छन्।
अहिले महानगरका अधिकांश वडा कार्यालयहरूले आफ्नै तहमै तिजगीत प्रतियोगिता आयोजना गरिरहेका छन् भने सञ्चारमाध्यमहरू पनि तिज महोत्सवको आयोजना गर्न थालेका छन्। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार यस्ता सांस्कृतिक महोत्सवहरूले पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान दिन्छन्। उउनी भन्छन्, “सांस्कृतिक अवसरलाई मेला र महोत्सवमार्फत रूपान्तरण गर्दा पर्यटन क्षेत्रलाई बल पुग्छ। तिज महोत्सवले देशको आर्थिक समृद्धिमा समेत अमूल्य योगदान दिन सक्छ।”
