प्रदेश प्रमुख डिल्लीराज भट्टले मनाए ७९ औं जन्मदिन वृद्धाश्रममा, ज्येष्ठ नागरिकलाई गरे सम्मान

Share:

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन सामाजिक उत्तरदायित्वका साथ मनाउँदै ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गरेका छन्। पोखरा-१७ स्थित सीतापाइला वृद्धाश्रममा शनिबार बिहान पुगेर उनले जन्मदिनको अवसरमा आश्रमका वृद्धवृद्धाहरूसँग समय बिताउनुका साथै सम्मान प्रदान गरेका हुन्।

प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञानमा वृद्धाश्रमलाई अझै सकारात्मक दृष्टिकोणले नहेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै विभिन्न कारणले परिवारबाट टाढा परेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

उनले भने, “सन्तानको समयाभाव वा तिरस्कारका कारण असुरक्षित जीवन बिताउनु पर्ने अवस्थाभन्दा वृद्धाश्रममा सुरक्षित र सहज जीवनयापन गर्नु बढी बुद्धिमानी हो।”

प्रदेश प्रमुख भट्टले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरी समाजसेवामा समर्पित पराजुली परिवार र सहयोगी शुभेच्छुकहरूलाई विशेष धन्यवाद ज्ञापन गरे। उनले वृद्धवृद्धाको दैनिकी, चाहना र आवश्यकताअनुसार सेवा तथा सुविधाको उचित व्यवस्था गरिन सकेमा वृद्धाश्रम घरभन्दा सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने विश्वास व्यक्त गरे।

उनले ज्येष्ठ नागरिकको जीवन अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीतिगत उपायहरू अपनाइएमा वृद्धाश्रमलाई सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो बनाउँदै आर्थिक दृष्टिले समेत सशक्त बनाउन सकिने सम्भावनाबारे पनि प्रकाश पारे।

कार्यक्रममा वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा प्रदेश प्रमुखले ज्येष्ठ नागरिकलाई सम्झनु तथा सम्मान व्यक्त गर्नु गौरवको विषय भएको बताउँदै उनीप्रति धन्यवाद ज्ञापन गरे।

कमेन्ट गर्नुहोस्
Share: