
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थान र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति देशभर साधारणतया बदली रहने महाशाखाले बताएको छ। गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
पछिल्लो २४ घन्टामा देशभर मध्यम वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकको मानेखर्कमा ८८.८, लमजुङको फलेनीमा ६१.६, डडेलधुरामा ७४.६, साहूखर्कमा ७८.२, डोटीको गैह्रामा ६०.८ मिलिमिटर वर्षा भएको छ।
