
मुस्ताङ। यस वर्षको दशैँमा स्वादिष्ट र पोषिलो मासुको मुख्य स्रोत बन्ने भएको छ-मुस्ताङका भेडाच्यांग्रा। उच्च हिमाली जडीबुटी खाएर हुर्किएका करिब १२ हजारभन्दा बढी भेडाच्यांग्रा देशका विभिन्न सहरतिर पठाइने भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमका अनुसार लो-घेकर दामोदरकुण्ड, लोमान्थाङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका जस्ता उपल्लो मुस्ताङका क्षेत्रहरूबाट सबैभन्दा बढी च्यांग्रा निकासी हुनेछन्।
बजारको माग, उत्पादनभन्दा दोब्बर
हाल मुस्ताङमा १९ हजार च्यांग्रा मध्ये ११ हजार बिक्रीका लागि तयारी अवस्थामा छन्। त्यस्तै, ५ हजार ५ सय भेडामध्ये ६ सय मात्र बिक्रीमा आउने तयारी छ। “चरन क्षेत्र र गोठालाको अभाव” उत्पादन बढाउन मुख्य चुनौती बनेको गौतम बताउँछन्। तिब्बतबाट आउने भेडाच्यांग्रासमेत जोड्दा पनि बजारको चाडपर्वीय माग धान्न गाह्रो हुने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्याल बताउँछन्। “सबै भेडाच्यांग्राको जोमसोम र घाँसामा अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा पठाइन्छ,” उनले स्पष्ट पारे।
‘हाई डिमान्ड’ : व्यापारी गोठमै पुगेर नगद किनमेल
तीज सकिएलगत्तै म्याग्दी, पर्वत, कास्की, बुटवललगायत क्षेत्रबाट व्यापारीहरूको लर्को मुस्ताङतिर लाग्न थालेको छ। व्यापारी नारायण सापकोटाका अनुसार,
“मुस्ताङको च्यांग्राले जडीबुटी खाएर हुर्किने भएकाले त्यसको मासु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। त्यसैले दशैँमा माग अत्यधिक हुन्छ।”
बढ्दो मूल्य : एक च्यांग्राको मूल्य ३५ हजारसम्म
मांगसँगै मूल्य पनि आकासिएको छ। व्यापारीहरूको अनुमानमा, रोज्जा च्यांग्राको मूल्य ३०–३५ हजार रुपैयाँसम्म पुग्ने सम्भावना छ। प्रति च्यांग्राको पालन खर्च नै करिब १,१९२ रुपैयाँ प्रतिकिलो पर्ने गौतम बताउँछन्। त्यसैगरी, च्यांग्राको उम्र पनि उत्पादनमा महत्वपूर्ण हुन्छ। सामान्यतः एउटा च्यांग्रालाई २–३ वर्षपछि मात्र बिक्रीयोग्य मानिन्छ।
