
पोखरा । जिल्ला समन्वय समिति (जसस) कास्कीले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यहरूको प्रगति विवरण सहित चालु आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना सार्वजनिक गरेको छ। मंगलबार आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रममा जससले आगामी योजना सार्वजनिक गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानको मर्मअनुसार प्राप्त अधिकार तथा स्रोत-साधनको सीमाभित्र रहेर समन्वय र अनुगमन कार्यलाई प्रभावकारी ढंगले अघि बढाइएको जानकारी दिए।
उनका अनुसार प्रदेश सरकारले बनाउनु पर्ने जिल्ला समन्वयसम्बन्धी कानुनहरू अझै निर्माण नभएको, प्राकृतिक स्रोतको उपयोग र राजस्व बाँडफाँडसम्बन्धी संघीय कानुनको अभाव, पर्याप्त स्रोत साधन विनियोजन नहुनु, र प्रदेश सरकारबाट अनुगमनका लागि छुट्याइएको बजेट नआउनुजस्ता विध्यमान समस्याहरूका कारण कार्यसम्पादनमा कठिनाइ भइरहेको छ।
प्रमुख पौडेलले जानकारी गराएअनुसार प्रदेश सरकारले १० लाख रुपैयाँ दिने भनिए पनि हालसम्म सो रकम प्राप्त भएको छैन। साथै, गुणस्तर परीक्षण प्रयोगशालाको अभाव, प्राकृतिक स्रोत (ढुंगा, गिटी, वालुवा) विक्रीबाट प्राप्त राजस्व बाँडफाँड गर्दा जससलाई बेवास्ता गरिनु, र स्थानीय तहबाट प्रशासनिक खर्चसमेत नपाइनु अन्य चुनौतीका रूपमा देखिएको छ।
उनले थपे, “योजना अनुगमनबाट दिइएका निर्देशनहरूको कार्यान्वयन कमजोर छ। स्थानीय तहहरू निर्देशन कार्यान्वयनमा उदासीन देखिएका छन्। विषयगत कार्यालय तथा स्थानीय तहहरूले कार्य प्रतिवेदन समयमा पेश नगर्नु र आवश्यक विवरणहरू समयमा उपलब्ध नगराउनु पनि समस्या बनेको छ।”
प्रमुख पौडेलले आन्तरिक कामकाज व्यवस्थित गर्न “आन्तरिक नियन्त्रण कार्यविधि” र “आन्तरिक आय–व्यय कार्यविधि” लागू गरिएको उल्लेख गर्दै भने, “यदि सबै जसस र स्थानीय तहहरूले यस्ता कार्यविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके, देशको आधा भ्रस्टाचार न्यूनीकरण हुन सक्छ।”
उनले जसस कास्कीले प्राप्त कानुनी अधिकारको सीमाभित्र रहेर निरन्तर प्रभावकारिता तर्फ अग्रसर रहेको र कास्कीलाई “रुग्ण आयोजना शून्य” जिल्ला बनाउने लक्ष्यतर्फ अघि बढिरहेको बताए। निरन्तर अनुगमन र समन्वयको माध्यमबाट दशकौं अघिदेखि अलपत्र रहेका आयोजना क्रमशः सुधार भइरहेका पनि उनले बताए।
जसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप-प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले जससका गतिविधि तथा आगामी योजना सम्बन्धमा जानकारी दिएका थिए। कार्यक्रममा सूचना अधिकृत लक्षु शर्माले कार्यक्रम सञ्चालन तथा समन्वय गरेका थिए।
