पोखराबाट भुटानसम्म सिधा चार्टर उडान, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आशा

Share:

पोखरा । भुटान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान भर्ने घोषणा गरेको छ। अब भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म सिधा हवाई यात्रा सम्भव हुने भएको हो। हाल भुटान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा चारवटा नियमित उडान गरिरहेको छ।पोखरासम्मको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने विश्वास पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले व्यक्त गरे।

“पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न यस्ता उडानहरू महत्त्वपूर्ण छन्,” प्रमुख आचार्यले भने, “यसको निरन्तरताका लागि पर्यटन व्यवसायीहरूले विशेष पहल गर्न जरुरी छ।”

यसअघि २०७९ असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो। त्यसयता हिमालयन एयरलाइन्सले पनि पोखराबाट छेन्दुमा उडान भर्दै आएको छ।

पछिल्लो समय सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु-अस्ट्रेलिया जोड्ने नयाँ रुटको पहल गरिरहेको छ, जसले पोखराको अन्तर्राष्ट्रिय पहुँचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: