
पोखरा। पोखरा महानगरपालिका-३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन्। गत भदौ ६ गते सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनयन भएर आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकले थापालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
बैठक निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य, र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
नयाँ समितिमा सदस्यहरूका रूपमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक रहेका छन्। पोखरा महानगरपालिका शिक्षा नियमावलीको नियम २९ (ङ) अनुसार स्थानीय बुद्धिजीवी तथा चन्दादातामध्येबाट लोकनाथ पौडेललाई समितिको सदस्यका रूपमा मनोनयन गरिएको छ। सदस्य सचिवको भूमिका विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले सम्हाल्नेछन् भने मानकाजी विक शिक्षक प्रतिनिधिका रूपमा समितिमा चयन भएका छन्।
अध्यक्ष थापाको प्रतिबद्धता
नयाँ अध्यक्ष थापाले विद्यालयका विद्यमान समस्याको समाधान गर्दै शैक्षिक, भौतिक र प्रशासनिक पक्षको समग्र विकासमा आफू क्रियाशील रहने प्रतिबद्धता जनाए। उनले भने, “विद्यालय सबैको साझा सम्पत्ति हो। विद्यार्थी खोज्दै विद्यालय जानुपर्ने अवस्था अब बदलिन्छ। हामी विद्यालयलाई यस्तो बनाउनेछौं कि विद्यार्थी आफैँ यहाँ आउन चाहून्।”
