
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोसम्म सिधा अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। भुटान एयरलायन्सले पोखरा-पारो चार्टर उडान सञ्चालन गर्न लागेको हो।
चार्टर उडानको व्यवस्था युनिभर्सल टुर्स एन्ड ट्राभल (UTT) ले गरेको हो। कम्पनीका सञ्चालक परासर प्रसाईँका अनुसार उडान असोज १२, १६, २० र २४ गते गरी चारपटक हुनेछ। १२६ सिट क्षमताको भुटान एयरलायन्समार्फत हुने उडानमा ४ रात ५ दिनको ट्राभल प्याकेज समेत उपलब्ध गराइनेछ।
प्रसाईँ भन्छन्, “निरन्तर प्रयास भयो भने पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भव छ। सरकारले एयरलाइन्सलाई प्रोत्साहित गर्नुपर्छ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो उडानले नेपाल-भुटान पर्यटन सम्बन्ध बलियो बनाउने र पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले यसले पर्यटन व्यवसायमा नयाँ उत्साह थपेको भन्दै सरकारलाई नियमित उडानका लागि पहल गर्न आग्रह गरे।
पोखरा तथा भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न सरकारले २०८१ साउन २८ देखि विभिन्न आर्थिक छुट दिएको छ।जसमा यात्रु सेवा शुल्कमा प्रति यात्रु ३,००० रुपैयाँ छुट, पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५% छुट रहेको छ।
अन्य अन्तर्राष्ट्रिय उडानहरू
हिमालय एयरलाइन्सले पोखरा-ल्हासा नियमित उडान गर्दै आएको छ। सिचुवान एयरलाइन्सले छेन्दु-पोखरा चार्टर उडान गरेको थियो र छेन्दु हुँदै अस्ट्रेलियासम्म उडानको प्रस्ताव पेस गरिसकेको छ। कूल ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको यस विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग छ ।
पोखरा विमानस्थलले हाल अन्तर्राष्ट्रिय उडानहरू विस्तार गर्दै लगेको सन्दर्भमा यो नयाँ उडानले अझ प्रभावकारी अन्तर्राष्ट्रिय कनेक्टिभिटीको सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
