
पोखरा। गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची परिमार्जन गर्दै अपांगता भएका सांसदका लागि सहयोगी कर्मचारीको व्यवस्था गरेको छ।
यस सम्बन्धी सूचना प्रदेश राजपत्रमा सार्वजनिक भइसकेको छ। ऐनको मूल अंश परिमार्जनका लागि प्रदेशसभामा प्रक्रिया आवश्यक भए पनि अनुसूची परिमार्जन भने मन्त्रिपरिषद्को निर्णयमार्फत गर्न सकिने कानुनी व्यवस्था अनुसार यो संशोधन गरिएको हो।
अपांगता अनुसार सहयोगी कर्मचारी पाउने प्रावधान थप
संशोधित अनुसूचीमा उल्लेख गरिएअनुसार, प्रदेशसभा पदाधिकारी वा सदस्यको अपांगताको अवस्था, कारण र स्थिति गम्भीर र सहयोगी बिना दैनिक कामकाज सम्भव नभएको खण्डमा, पाँचौँ तहसम्मको एक जना सहयोगी कर्मचारी उपलब्ध गराउने प्रावधान गरिएको छ।
यसअघि ऐनले स्वकीय सचिवको व्यवस्था मात्रै गरेको थियो, अब योसँगै आवश्यकता अनुसार थप एक जना सहयोगी पनि तोक्न सकिनेछ।
सुनीता थापाका लागि दोभासे नियुक्त
यसै संशोधनको आधारमा श्रवण समस्या भएकी समानुपातिक सांसद सुनीता थापाका लागि एकजना दोभासे सहयोगी कर्मचारी नियुक्त गरिएको छ।
सांसद थापाको सिफारिसमा प्रदेशसभा सचिवालयले सुवास कोइरालालाई सहयोगीका रूपमा नियुक्त गरेको हो। उनी यसअघि पनि प्रदेशसभा बैठकमा दोभासेको रूपमा कार्यरत थिए। अब उनले सहायक पाँचौँ तह (नायव सुब्बा सरह) को सुरु तलबसहित सेवा पाउनेछन्।
प्रदेश सरकारले गरेको यो निर्णयलाई समावेशी र पहुँचयुक्त संसद निर्माणतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ। यसले अपांगता भएका जनप्रतिनिधिलाई सार्थक सहभागिता र प्रभावकारी कार्यसम्पादनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
