लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृत्व: जानुका पराजुलीको प्यानलले गर्‍यो क्लिन स्विप

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५औँ अधिवेशन ऐतिहासिक बन्न सफल भएको छ। पहिलोपटक संघको नेतृत्व महिलाको हातमा पुगेको छ। संघमा लामो समयदेखि सक्रिय जानुका पराजुली अधिकारी अध्यक्ष पदमा निर्वाचित हुँदै संघको नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन्।

शनिबार सम्पन्न निर्वाचनमा पराजुलीले ९९६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी तथा तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई ८३३ मतमा सीमित पारिन्। १६३ मतको फराकिलो अन्तरले विजयी हुँदै उनले नयाँ इतिहास रचेकी हुन्। यसअघि महासचिवको भूमिकामा रहेर संघमा योगदान दिँदै आएकी पराजुली अब अध्यक्षको जिम्मेवारी सम्हाल्नेछिन्।

पूरा प्यानलको शानदार जित

अध्यक्ष पदसँगै जानुका पराजुलीको प्यानलले सम्पूर्ण पदमा ‘क्लिन स्विप’ गर्दै ऐतिहासिक जित हासिल गरेको हो। प्रारम्भमा मिश्रित नतिजाको आँकलन गरिए पनि अन्तिम परिणाममा सम्पूर्ण पदमा पराजुली नेतृत्वको प्यानलले स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ।

निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत ल्याई निर्वाचित भएका छन्। यस्तै, प्रथम उपाध्यक्षमा १ हजार १ सय ५० मत ल्याई विक्रम कर्माचार्य निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा १ हजार २ सय १८ मत ल्याई ध्रुवबाबु भट्टराई निर्वाचित भएका छन्।

यस्तै, महासचिवमा भरतराज ओझाले ९ सय ५५ मत, उपमहासचिवमा गंगा मल्लले १ हजार ६६ मत तथा कोषाध्यक्षमा हरी बस्ताकोटीले १हजार २७ मत ल्याई निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा सुजन न्यौपानेले १ सय ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुनले १ हजार ३६ मत
, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत, दिपक अधिकारीले ९ सय ६० मत, प्रभा पौडेल लामिछानेले ९ सय ४४ मत, कृष्णप्रसाद तिमिल्सिनाले ८ सय ८३ मत तथा सन्दिप बुढाथोकीले ८ सय ८३ मत ल्याई निर्वाचित भएका छन्।

महिला सदस्यहरुमा शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत, गंगा सापकोटा परियार ले ९ सय १० मत निर्वाचित भएका छन् भने सपना सुवेदी ९ सय ७ मतमा पराजित भएकी छन्। एसोसिएट सदस्यमा दयाराज भण्डारीले २७ मतसहित निर्वाचित भएका छन्। संस्थागत सदस्यमा विरभद्र कंडेल निर्विरोध निर्वाचित भएका छन्।

विपक्षी प्यानलको कमजोर प्रदर्शन

पराजुली नेतृत्वको प्यानलले सम्पूर्ण पदमा जित हात पार्दा विपक्षी प्यानलका उम्मेदवारहरूले खासै प्रभाव देखाउन सकेनन्। विपक्षी उम्मेदवारहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने कृष्णप्रसाद सुवेदीले ८५७ मत ल्याए पनि जित नजिक पुग्न सकेनन्।

इतिहास रच्दै अगाडि बढ्दै

लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनु स्वयंमा नै एक महत्वपूर्ण र प्रेरणादायी घटना हो। उद्योग, व्यापार र नेतृत्वमा महिलाको सक्रियता बढ्दै गएको यो प्रमाण संघको भविष्यलाई अझ सशक्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: