सरकारकै कमजोरीले बग्यो ‘रगतको खोलो’, अस्पतालभित्रै जेनजीमाथि बर्साइयो अश्रुग्यास

Share:

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्र सोमबाररणमैदानमा परिणत भएको छ। जेनजीको प्रदर्शन उग्र बन्दा प्रहरीले चलाएको गोली र अश्रुग्यासको बर्साले नयाँ बानेश्वर क्षेत्र रणमैदानमा परिणत भएको हो।

सरकारले नेपालमा दर्ता नभएका समाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ता आन्दोलित बनेका थिए। उनीहरू माइतीघर मण्डलाबाट मध्यान्न पौने १२ बजेतिर नयाँ बानेश्वर क्षेत्रमा पुगे।

आक्रोसित युवाको भिड नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्‍यो। स्थिति उग्र बन्दा प्रहरीले गोली चलायो। थुप्रै विद्यार्थी गोली लागेर ठाउँको ठाउँ ढले।

स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यू जारी गर्‍यो। कर्फ्यू जारी भए पनि युवाहरू आन्दोलनबाट पछि हटेनन्।

सरकारले सेना नै परिचालन गर्नुपर्ने अवस्था सिर्जना भयो। र, प्रहरीले निरन्तर अश्रु ग्याससँगै गोलीको वर्षा गर्न थाल्यो।

प्रहरी रिपोर्टअनुसार हालसम्म १७ जेनजी युवाले ज्यान गुमाइसकेका छन्। काठमाडौंका विभिन्न अस्पतालमा चार सयभन्दा बढी घाइतेको उपचार जारी छ। घाइतेको उद्धार जारी रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: