सेनाको गेटमा जेनजीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला

Share:

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटाएर नेपाली सेनाको जंगी अड्डा पुगेका युवाहरूबीच नेतृत्वको विषयमा विवाद चर्किएको छ। प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू नेपाली सेनाको मुख्यालयको गेटमै आपसी भनाभनमा उत्रिएका हुन्।

सेनाको मुख्यालय अगाडि जम्मा भएका युवाहरूबीच अन्तरिम सरकार कसले नेतृत्व गर्ने भन्ने विषयमा मतभेद देखिएको हो। कतिपयले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौंका मेयर बालेन्द्र साहको नाम अगाडि सार्दै नाराबाजी गरेका थिए, भने अर्को पक्षले सुशीला कार्कीको नाममा अडान राखेको थियो।

“हामी परिवर्तनका लागि आएको हौं, व्यक्ति विशेषका लागि होइन,” एक सहभागीले नाराबाजीका बीच भने।
केही युवा समूहले सुशीला कार्की मान्य छैन भन्ने नारासमेत लगाएका थिए। यसअघि जेनजी पुस्ताले लामो छलफलपछि सुशीलालाई अन्तरिम प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेको थियो। तर, सैनिक मुख्यालय पुग्ने बित्तिकै देखिएको विभाजनले सहमति स्थायीत्वमा रूपान्तरण हुन अझै समय लाग्ने संकेत देखाएको छ।

यसबीच प्रधानसेनापति सिग्देलले वार्ता टोलीसँग संयमता अपनाउन आग्रह गरेका छन्। सूत्रका अनुसार सेना नेताहरूबीच स्पष्ट सहमति नआएसम्म औपचारिक निर्णयमा अघि नबढ्ने पक्षमा छ।

कमेन्ट गर्नुहोस्
Share: