सेनाले फेरि जारी गर्यो निषेधाज्ञा र कर्फ्यू आदेश, अत्यावश्यक सेवामा छुट

Share:

काठमाडौं । राजधानी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्यूलाई थप कडाइका साथ निरन्तरता दिइएको छ। सुरक्षा अवस्थाको समिक्षा गर्दै सम्बन्धित जिल्ला सुरक्षा समितिहरुले भदौ २७ गतेका लागि नयाँ समयसहितको आदेश जारी गरेका छन् । सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा भदौ २७ गते अर्थात् भोली बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ।

यस्तै, सोही दिन बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ। यस अवधिमा सर्वसाधारणको हिँडडुल, जुलुस, धर्ना तथा सार्वजनिक प्रदर्शनहरु पूर्णतः निषेध गरिएको छ। यद्यपि, एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, साथै खाद्यान्न, इन्धन, ग्यास, दूध, पानी, औषधी ढुवानी गर्ने सवारी साधनहरुमा भने छुट दिइएको छ। त्यस्तै, सरकारी कार्यालय, मानव अधिकार आयोग, बैङ्क तथा वित्तीय संस्था लगायतका कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नेछन्।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडान टिकट देखाई आवतजावत गर्न पाउनेछन्।काठमाडौं उपत्यका बाहिरका जिल्लामा भने निषेधाज्ञा तथा कर्फ्यू स्थानिय सुरक्षा समितिको निर्णयअनुसार सञ्चालन गरिनेछ। नेपाली सेनाले आम नागरिकहरूलाई सुरक्षाकर्मीहरूसँग समन्वय गरी आवश्यक सहयोग गर्न आह्वान गरेको छ।

अत्यावश्यक सेवा तथा धार्मिक परम्पराको सम्मानका लागि छुट दिइएको भएपनि, निषेधाज्ञा अवधिभर कुनै पनि किसिमका सामूहिक कार्यक्रमहरु गर्न नपाइने नेपाली सेनाले जनाएको छ ।  जनसम्पर्क तथा सूचना निर्देशनालय, नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा तथा मानवीय उद्धारमा खटिएका सुरक्षाकर्मीहरुप्रति सहयोग र सम्मान प्रकट गर्न हामी सबै जिम्मेवार नागरिकको कर्तव्य हो।”

कमेन्ट गर्नुहोस्
Share: