
काठमाडौं । सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले नियन्त्रणमा राखेका निवर्तमान मन्त्रीहरूलाई आज रिहा गरिएको छ। ती मन्त्रीहरूलाई काठमाडौंस्थित भैरवनाथ गणमा राखिएको थियो।
सेनाले उनीहरूलाई “सुरक्षाका निम्ति अस्थायी नियन्त्रणमा” लिएको बताउँदै आएको थियो। उनीहरूलाई मोबाइल फोन प्रयोग गर्नसमेत अनुमति दिइएको थिएन। स्रोतका अनुसार, न्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएका मन्त्रीहरूलाई मोबाइल चलाउन अनुमति दिइएको थियो।
आजबाट भने उनीहरूलाई घर फर्कन दिइएको छ। निवर्तमान एक मन्त्रीले नाम नखुलाउने सर्तमा जानकारी दिँदै भने, “मोबाइल प्रयोग गर्न पाएका थियौं, अब घर जान अनुमति दिइएको छ।”
सेनाले हालसम्म औपचारिक रूपमा यस्ता नियन्त्रणबारे विवरण सार्वजनिक गरेको छैन। तर मानवअधिकार र राजनीतिक वृत्तमा यसबारे चासो बढ्दै गएको छ।
